
शनिवार , कार्तिक ८, २०७७
परासी, ८ कार्तिक ।
चाडपर्वमा पनि उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश भएका छन् । तीन वर्षदेखि लगातर भुक्तानीको आश्वासन मात्र पाइरहेका किसानहरु यस वर्षको चाडपर्व दशैं तिहारमा पनि भुक्तानी नपाएपछि मर्कामा परेको बताउँछन ।
उता ४ महिनाको लकडाउनमा ऋण सापटी खोजेर बल्लतल्ल आफनो घर–व्यवहार मिलाए तर अहिले दशंैतिहार मनाउन र गहुँमुसुरो तोरीको खेती समेत गर्न पैसा नभएपछि उखु किसानहरु थप चिन्तित बनेको उखु किसान राम प्रसाद पाल बताउँछन् । उखु किसानहरु मिललाई एक महिनाका लागि मात्र उधारोमा दिए पनि मिलहरुले बन्दाबन्दी, लकडाउन, कोरोना लगायतका बहाना देखाउँद आलटाल गर्दै तीन वर्षसम्ममा पनि भुक्तानी नदिएको पालको गुनासो छ ।
जिल्लामा बाग्मती खाडसारी चिनीमिल, ईन्दिरा सुगर इण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी ३ ठुला चिनी मिल संचालनमा छन् तर गत वर्ष बागमति बाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै संचालन गरेनन् । बाग्मती चिनी मिलले क्रमशंै उखुको भुक्तानी गरे पनि विगत तीन वर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् । उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ८ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड गरि अझै १८ करोड रुपैयाँ भुक्तानी पाउन पर्नेछ तर मिल संचालकहरु भाग्दै लुक्दै विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।
अहिले किसानहरुको घरमा पैसा छैन । लामो समयको लकडाउनका कारण बजारमा पैसा नभएकाले किसानहरु कसैबाट सापटी वा ऋण पनि पाइरहेका छैनन । दशंै तिहार लगायतका चाडपर्व आयो साथै हिउँदे बाली लगाउने बेला पनि आयो तर पैसा आएन किसानहरु कसरी घर–व्यवहार मिलाउने र खेतीपाती गर्छन भन्ने दुःख किसानहरुको रहेको छ ।
भुक्तानीको यस्तै रवैयाका कारणे किसानहरु उखु खेती छाडदै गएका छन् । पहिला जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको थियो तर हाल जम्मा ५ हजार हेक्टरक्षेत्रफलमा मात्र उखु खेती भएको पाइएको संघले जनाएको छ । जसमा जम्मा एक हजार किसानहरु मात्र छन् । सरकारले उखुको समर्थन मुल्य ५३६ रुपैया प्रतिक्वीन्टल तोके पनि मिलहरु तयार सो मुल्य तिर्न तयार नरहेकाले भुक्तानीमा थप ढिलाइ भइरहेको संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij