२०८२, मंसिर ४ गते

Nov 20 2025 | २०८२, मंसिर ४ गते

संसद भवनलाई समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

बिहिवार , मंसिर ४, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, ४ मंसिर । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

    बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

    उहाँले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘निर्माणाधिन संसद भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ । राष्ट्रिय सभा अहिले पनि जारी छ । त्यसको हल छैन । राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन ।

    त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ । प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ । त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ । उहाँहरुको भनाइअनुसार अहिले ३ सय ५० जनाको श्रमशक्ति लागिरहेको छ भन्ने छ ।

    आवश्यक सामानहरु पनि आएको भनेर भन्नुभएको छ । तर गति चाँही अलिकति सन्तोषजनक नभएपनि स्पीड लिएको हुँदाखेरी आशा राख्ने ठाउँ छ ।’

    निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन् ।