२०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रूपमा लिनुपर्नेमा जोड

बिहिवार , मंसिर ३, २०८३

  • 130
    Shares
  • 130
    Shares
  • भैरहवा, ३ मंसिर । जलवायु परिवर्तनका असरलाई विश्व समुदायले गम्भीर रूपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रकी जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जलवायु परिवर्तन विश्वकै लागि ठूलो चुनौती बन्दै गएको बताउनुभयो ।

    ‘जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रमा मात्रै सीमित नभइ संसारभर पर्ने गर्दछ । नेपालको भोटेकोशी, बूढीगण्डकी र त्रिशूली नदीमा आएका आकस्मिक बाढी पनि त्यसैका असर हुन् । यसको प्रभाव विस्तारै संसारभर फैलिनेछ’, उहाँले भन्नुभयो–‘यसैले विश्व समुदाय सचेत भई एक–अर्कासँग हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन।’

    उहाँले शिक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), शैक्षिक न्याय, जलवायु परिवर्तन तथा विपद्का समयमा शिक्षाको निरन्तरतासम्बन्धी महत्वपूर्ण विषयसमेत उठाउनुभयो ।

    WhatsApp Image 2026-11-19 at 3.53.47 PM.jpeg

    अन्तर्राष्ट्रिय सिम्पोजियममा वक्ताका रूपमा सहभागी थापाले ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एजुकेसनल जस्टिस’ शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले विशेष गरी रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा गोरखाको बूढीगण्डकी नदी क्षेत्रमा परेको बाढीको प्रभाव उल्लेख गर्दै विपद्का समयमा विद्यालय, शिक्षक र विद्यार्थीले भोग्नुपर्ने चुनौती तथा सिकाइ निरन्तरताको आवश्यकताबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले कृत्रिम बुद्धिमत्तालाई शिक्षामा समान पहुँच र अवसर विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै प्रविधिको प्रभावकारी उपयोगका लागि दक्ष तथा सशक्त शिक्षक, सबल शैक्षिक संस्था र समावेशी नीतिगत व्यवस्थाको आवश्यकता औंल्याउनुभयो । विशेष गरी ग्रामीण, दुर्गम तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाले पनि गुणस्तरीय शिक्षामा समान अवसर पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपालका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै विभिन्न देशका संस्था, विकास साझेदार, शिक्षाविद् तथा अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य र सम्बन्ध विस्तार गरी नेपालका लागि दीर्घकालीन सहयोग र अवसर जुटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    अन्तर्राष्ट्रिय समुदायको महत्वपूर्ण उपस्थिति रहेको सम्मेलनले शिक्षा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका सवाललाई अन्तर्राष्ट्रिय बहससँग जोड्नुका साथै नेपालका लागि सहकार्य, सञ्जाल विस्तार र सहयोगका नयाँ सम्भावना खोज्ने अवसर प्रदान गरेको थापाले बताउनुभयो ।

    WhatsApp Image 2026-11-19 at 3.53.47 PM (1).jpeg

    इन्टरनेशनल एजुकेटर्स विदाउट बोर्डर्स (ईडब्लुबीआई) ले संयोजन गरेको उक्त सम्मेलनमा विभिन्न देशका विषय विज्ञहरूको सहभागीता थियो ।