बिहिवार , मंसिर ४, २०८२
काठमान्डौ जिल्ला बानेश्वरकी रुपा थापा क्षेत्रीले आफ्नो बाल्य उमेरमा घरै अगाडी "लैंगिक हिँसा अन्त्य गरौ" मानव अधिकार सुनिस्चित गरौ" भन्ने प्ले कार्ड र "नेपाली कांग्रेसको चारतारे झन्डा" बोकेका मानिसहरुको भिड देखिन l उनको कलिलो मष्तिस्कमा प्ले कार्डमा लेखिएको नारा भन्दा बढी नेपाली कांग्रेसको चारतारे झण्डाले उनको ध्यान तान्यो l उमेर बढ्दै जादा, नेपालका धेरै जिल्लाहरु घुम्ने मौका मिल्यो l यहि क्रममा नेपालमा महिलाहरु प्रतिको विभेद र महिला माथि हुने हिंसाको बास्तबिकता बुझ्ने उनलाई अवसर प्राप्त भयो l महिलाहरुले भोगेका पीडाहरु देखेर उनको मन कुडियो l आफ्नो बाल्य उमेरमा देखेको प्ले कार्डको अर्थ बल्ल उनले बुझिन l महिलाहरु प्रतिको विभेद अन्त्य हुनुपर्छ भन्ने उनलाई लाग्यो र आफुलाई कुनै समय आकर्षित गरेको चारतारे झन्डा मुनि बस्ने संकल्प गरिन र राजनीतिमा होमिन पुगिन l उनको राजनीतिक यात्रा स्वतन्त्र बिधार्थी युनियनको सदस्य, बिधालय ब्यबस्थापन समिति सदस्य, काठमान्डौ वडा नम्बर ७ कि महिला संजालको संयोजक, काठमान्डौ महानगरपालिका वडा नम्बर ७ को अनुगमन समितिको संयोजक, काठमान्डौ महानगरपालिकाको नगरसभाको बिधान संयोजक तथा चाबहिल वडा नम्बर ७ कि वडा सदस्य उनै रुपा थापा क्षेत्रीसंग खबरपात्रोका विचार संयोजक मनोज लामिछानेले लिएको अन्तरबार्ता :
तपाईंलाई वडा सदस्यको रूपमा काम गर्ने चाहना कसरी आयो ?
जनताले प्रत्यक्ष रुपमा सामना गरिरहेका समस्याहरुको पहिचान गर्ने र सोहि बमोजिमका समस्याहरुलाई तत्काल समाधान गर्ने पहिलो थलो स्थानीय निकाय नै हो l जसमा गरिब, उत्पीडित, अवसरबाट बन्चित महिला, बालबालिका, जेष्ठ नागरिकले भोगेका पिडाहरुलाई नजिकबाट बुझ्न सजिलो हुन्छ l राजनीतिको केन्द्रीय तह भन्दा स्थानीय तहमा नागरिकहरूको समस्यासँग सीधै जोडिएर काम गर्दा तुरुन्त नतिजा देखिने र जनताको जीवनमा सकारात्मक फरक पार्न सकिने देखेर वडा सदस्यको रुपमा काम गर्ने चाहना आएको हो l
विशेष गरी महिला नेत्री भएर सामाजिक दायित्वमा लाग्नुको पछाडिको पृष्ठभूमि केहि छ कि?
म सधै सोच्ने गर्थे, बिश्वमा पुरुष भन्दा महिलाहरुको संख्या बढी छ l आधा आकस ओगटेका अधिकांस महिलाहरु किन सधै घरभित्रको चुल्हो-चौका भित्र सिमित छन्? किन हाम्रो समाजमा महिलाले भोगिरहेका संरचनात्मक असमानताहरू सधै यथावत छन् ? के महिला भएर जन्मिनु अपराध हो? यस्ता अनगिन्ती प्रश्नहरुले मलाई सताई रहन्थ्यो l म आफु पनि स्वयम महिला भएर आफ्नो घरभित्र र घर बाहिर आफूले भोगेका र देखेका चुनौतीहरू, आफ्नै वरपरका दिदीबहिनी र साथीहरुले महिला भएकै कारण गर्नु परेका संघर्षहरु र महिला प्रति राज्यले बनाइएका असमान नीतिहरुले गर्दा मलाई यो दायित्व लिन प्रेरित गरेको हो ।
तपाइँ एक जिम्मेवार वडा सदस्यको हैसियतले यो वडा नम्बर ७ का मुख्य समस्याहरु के के छन्? र तपाइले ती समस्याहरुलाई कसरी सम्बोधन गरिरहनु भएको छ? यसका केहि उदाहरणहरु भन्न् सक्नु हुन्छ ?
हाम्रो यस चाबहिल वडा नम्बर ७ मा, मुख्य रुपमा सामाजिक, आर्थिक, भैतिक पूर्वाधारको रुपान्तरणमा केन्द्रित भएका छौ l यहाका प्रमुख समस्याहरूमा अपर्याप्त स्वच्छ पानीको आपूर्ति, सडक र भौतिक पूर्वाधारको कमी, जेष्ठ नागरिकका समस्या, युवाहरुको विदेश पलायन, महिलाहरूको लागि रोजगारीको अभाव, महिला तथा बालबालिका सशक्तिकरणका लागि अपर्याप्त अवसरहरू, बालबालिकाका लागि उचित खेल मैदान, सुलभ शौचालय, अपांग मैत्री सडक पूर्वाधार र सांस्कृतिक संरचनाहरुको मर्मत-सम्भार र संरक्षण जस्ता अनगिन्ती रहेकाछन्। हामीले यी समस्याहरू सम्बोधन गर्न एकिकृत दृष्टिकोण र योजनाहरु अवलम्बन गरेका छौं । पानीको समस्याको समाधानको लागि हामीले नयाँ धारा जडान, पुराना धाराहरुको मर्मत, युवा तथा महिला रोजगारीको लागि स्थानीय स्तरको सिप विकास तालिम, महिलाहरूको आर्थिक सशक्तिकरणको लागि लघुवित्त कार्यक्रम, बालबालिकाका लागि उचित खेल मैदान, ढल मर्मत तथा ब्यबस्थापन, सुलभ शौचालय, गल्लि तथा साना सडकहरु निर्माण तथा मर्मत, सांस्कृतिक संरचनाहरुको मर्मत-सम्भार र संरक्षण, स्वास्थ्य सेवामा जनताको पहुच, कानुनि परामर्श जस्ता कार्यक्रमहरु सञ्चालनमा गरिरहेका छौ l
पितृसत्तात्मक समाजमा महिला सदस्य भएर काम गर्न कत्तिको चुनौती छ ? कुनै उदाहरण ?
पितृसत्तात्मक समाजमा महिलाहरुलाई सर्बप्रथम आफ्नै घरबाट विभेद शुरु हुन्छ l पितृसत्तात्मक मानसिकताले ग्रस्त समाजमा एउटा महिला सदस्य भएर काम गर्न त्यति सजिलो पक्कै छैन् l नेपालको संविधानको धारा ३८ मा महिला सम्बन्धि हकका बिषयमा, महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएकोछ l बिडम्बना त के हो भने, महिला अधिकारका मुद्दा उठाएर संगै चुनाब लडेका र चुनाब जितेपछि तिनै जन-प्रतिनिधिहरुको विभेद र झुठा लान्छनाहरु खेप्नु पर्यो l तिनै जन-प्रतिनिधिहरुको कारण आफुले नगरेको अपराधको मुद्धा अखित्यारमा धाउनु पर्यो l निर्णय प्रक्रियामा महिलाको आवाजलाई पर्याप्त महत्व नदिने प्रवृत्ति अझै कायम छ । जस्तै, बजेट प्राथमिकता निर्धारणमा महिलाका मुद्दा भनिए पनि प्राथमिकतामा कठिनाइ हुने, बैठकहरूमा निर्णय प्रक्रियामा महिलाको आवाजलाई कहिलेकाहीँ दोस्रो प्राथमिकतामा राखिएको अनुभव पनि छ । तर निरन्तर छलफल, तर्क, तथ्य–प्रमाण र समुदायको समर्थनका आधारमा पेशागत क्षमताबाट योगदान गर्दैजाँदा सहकर्मीको विश्वास बढ्दै गएको छ । चुनौतीहरूलाई अवसरको रुपमा रूपान्तरण गर्दै काम गरिरहेकीछु । आज सफल पनि हुदै गैरहेकी छु l
आफू एउटी महिला नेत्री भएर अरु महिला तथा युवतीहरूलाई स्थानीय नेतृत्वमा आउन प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ? कि होइन यो महिलाका लागि कठिन छ भन्ने लाग्छ?
बिद्ध्मान समाजमा राज्यको हरेक तह र तप्कामा पुरुषहरुको दवदवा छ l एकातिर केहि सिमित महिलाहरुको सोचको कारण महिलाहरुबाट स्वयं महिलाहरु नै पिडित हुनु परेकोछ भने अर्कोतिर बिगतमा जो महिलाहरु नेतृत्व तहमा छन् उनीहरुकै आजसम्म पनि हालीमुहाली छ l यसकारण पनि महिलाहरु राज्यको निकायमा नेतृत्वदायी भूमिकामा आउनु पर्छ भन्ने लाग्छ l महिलाहरुका लागि त्यति सजिलो छैन तर चुनौती छ भन्दैमा महिलाहरु चुप लागेर बस्ने अवस्था पनि छैन l धेरै भन्दा धेरै महिलाहरु राज्यको हरेक तह र तप्कामा आउनु पर्छ l यसका लागि पुराना पुस्ताले नया पुस्तालाई पुस्ताहस्तान्तरण गर्नुपर्छ l महिलाका लागि महिला नै जागरुक हुनुपर्छ l यसका लागि मैले हरेक कार्यक्रमहरुमा नयापुस्तालाई नेतृत्व तहमा आउनुपर्छ भनेर निरन्तर प्रोत्साहित गरिरहेकी छु l
अहिलेको नेपालको राजनीतिमा युवाहरु अगाडी आउनु पर्छ भन्नेछ? तपाइँ पनि एक युवा भएको नाताले के युवाहरुले राज्यको समग्र बिकासमा अहिलेको अबस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन जस्तो लाग्छ?
अवश्य पनि, युवाहरु राजनीतिमा आउनु पर्छ भन्ने लाग्छ l नेपालमा भएको जेंजी आन्दोलन पनि देशको विद्धमान अवस्थाको बिरुद्धमा थियो l अब पुस्ता परिबर्तन गर्नुपर्छ l युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने हो l नेपालको जनसंख्याको ठूलो हिस्सा युवा छन् र देशको भविष्य पनि युवाहरूमा नै निर्भर छ । नयाँ सोच, ऊर्जा, र नवीनताको लागि युवाहरू नै राज्यको नेतृत्वदायी भूमिकामा आउनुपर्छ भन्ने हो । अहिलेको डिजिटल साक्षरता, वैज्ञानिक सोच, र गतिशीलताको युगमा नया सोच भएका युवाहरूको भूमिकाले देशको समग्र विकास प्रक्रियामा अग्रगामी छलांग मार्न सक्छ भन्ने लाग्छ l यसको निम्ति युवाले युवालाई साथ् दिनुपर्छ l अहिलेका राजनीतिक दलका पुराना नेताहरुले आफ्नो सोचमा परिबर्तन ल्याउन जरुरि छ l देशले खोजेको नया पुस्ता नै हो l यसैले पुराना नेताहरु अभिभाबकीय भूमिका बसेर नया पुस्तालाई सत्ता हस्तान्तरण अहिलेको आबश्यकता पनि हो l
अन्तयमा, आफुलाई भन्न मन लागेका र छुटेका कुराहरु केहि छन् कि?
अन्त्यमा, मलाई स्थानीय राजनीतिमा आउनु पर्छ भनेर सधै सल्लाह, शुझाब र प्रेरणा दिनुहुने मेरा अग्रज दाजु श्री अरुण सिंह बस्नेत र मलाई सधै कार्यगतरुपमा सहयोग गर्ने यस वडा नम्बर ७ का वडा अधक्ष्य ज्यु श्री बिमल होडा प्रति आभार ब्यक्त गर्न चाहन्छु l स्थानीय सरकारमा जनप्रतिनिधिको भूमिका पुर्बधारतहको विकास निर्माणमा मात्र केन्द्रित हुने होइन् l जनताको समग्र बिकासमा ध्यान दिनुपर्छ भन्ने हो l यो मेरो विश्वास पनि हो l यहि विश्वासका साथ् आफूले प्रतिनिधित्व गर्ने प्रत्येक नागरिकको आवाजलाई बुलन्द स्वरमा उठाउन सकियोस र उनीहरूको आशा र आकांक्षा अनुरूप आफ्नो वडाको विकास गर्न सकूँ र यस कार्यमा सबैको सहयोग र सहभागिताको आशा गरेकी छु । धन्यबाद l
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij