शुक्रवार , जेठ ८, २०८३
रुपन्देही, ८ जेठ । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलोपटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसीप २०८३’ आयोजना गरिएको छ ।
प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मञ्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसीप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिष्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए ।
दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको यो कार्यक्रमलाई सञ्चालनका लागि रुपन्देही उद्योग संघलाई इन्स्योर परियोजनाले साथ दिएको थियो । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबीच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।अध्यक्ष पराजुलीले सरकोकारवाला निकाय, उद्योगी तथा विभिन्न प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालयबाट ठूलो संख्यामा विद्यार्थीहरु सहभागी गराइएको उनले बताउनुभयो । उहाँले भन्नुभयो–‘राज्यको अंगका रूपमा निजी क्षेत्र पनि भएकाले प्राविधिक क्षेत्रमा लगानी गरिएको हो, दक्ष जनशक्ति बनाउने र नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउन यो परियोजनाले सीपमूलक शिक्षामा लगानी गरेको छ, पढ्दै काम गर्दै अघि बढाइएकोले निकै प्रभावकारी भएको हो । पहिले काम गरिरहेकोलाई दक्ष बनाइरहने आईटी, होटल म्यानेजमेन्ट र अटोमोबाइलमा खुला प्रतिष्पर्धा गरिएको हो ।’
लुम्बिनी सीप च्याम्पियनसीप कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इञ्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीबीच सीप प्रतिष्पर्धा गराइएको र प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको वर्तमान अवस्था, चुनौती र अवसरसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफल गरिएको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिनाले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नु, सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले पनि साथ दिएको बताउनुभयो ।
त्यस्तै सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको दूरी कम गर्दै उद्योग र शिक्षालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, युवालाई वृत्ति परामर्श, प्राविधिक शिक्षा तथा रोजगारीका अवसरबारे जानकारी प्रदान गर्नु निजी क्षेत्रको पनि दायित्व रहेको बताउँदै उहाँले अब सरकारले यसमा आधारिक कार्यक्रम र बजेट बनाउने प्रतिवद्धता जनाउनुभयो । ‘प्रविधिको युगमा, एआईको युगमा यसलाई कसरी प्रयोग गर्ने चुनौती छ, रोजगारीसँग शिक्षा र प्रविधि जोडिनुपर्छ भन्ने यस्ता कार्यक्रमको प्राथमिकता पर्नुपर्छ । प्रदेशका धेरैजसो जिल्लाबाट सहभागी विद्यार्थीलाई नयाँ सन्देश लिएर जानुपर्नेछ ।’ उहाँले भन्नुभयो–‘८० वर्ष पहिले स्वीजरल्याण्डले अंगालेको अभियान अहिले हामीले गर्नुपरेको छ । विद्यालय तहबाट नै व्यवहारिक प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र यस्ता प्रतियोगिता हरेक वर्ष अलग अलग जिल्लामा संचालन गर्नुपर्ने, प्रविधिलाई सदुपयोग गर्न नसके अघि बढ्न सकिदैन भन्ने विषय सबैले बुझ्न जरुरी छ।’
इन्स्योर प्रदेश प्रमुख अम्बिका प्रसाद तिमिल्सनाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै प्राविधिक शिक्षातर्फ नयाँ पुस्तालाई जानकारी दिने र निजी क्षेत्रलाई यसबारे अग्रसरता बनाउने मुख्य उद्देश्य रहेको जनाउनुभयो । ‘नयाँ पुस्तालाई प्राविधिक ज्ञानबारे जानकारी दिने, उद्योगमा भएका संभावनाबारे जानकारी दिने, प्राविधिक शिक्षा कस्तोखालको छ र कसरी समन्वय गर्न सकिन्छ भनेर सरोकारवालालाई सँगै राखेर बहस गराउने र प्रदेश तथा स्थानीय सरकारलाई यसको ध्यानाकर्षण गराउने मुख्य उद्देश्य हो, जुन आज त्यो सफलता पाएको छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिएको थियो । त्यस्तै उद्योगीहरुले आफूलाई आवश्यक कामदारको संख्या र सेवासुविधासहितको जानकारीसहित राखेका थिए । यो कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको ठूलो सहभागिता रहेको थियो ।
शुभारम्भ कार्यक्रममा शुभकामना राख्दै क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले विद्यार्थी र निजी क्षेत्रसँगै राखेर कार्यक्रम गर्दा धेरै प्रभावकारी भएको, कोर्ष करिकुलम नयाँ प्रविधिमा आधारित हुनुपर्ने बताउनुभयो । आजको कार्यक्रमको नामअनुसार अत्यन्तै प्रभावकारी भएको उहाँले बताउनुभयो ।
रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले प्राविधिक सीपमा दक्षता नभएसम्म देश विकास सम्भव नहुने बताउनुभयो । उहाँले उद्योग व्यवसाय प्रवद्र्वनका लागि प्राविधिक सीप जरूरी रहेको बताउनुभयो ।
तिलोत्तमा–६ वडाध्यक्ष गणेश पाठकले विद्यार्थीले चाहनाअनुसारको विषय पढ्न नपाएकाले बाहिरिएकाले करिकुलम चेन्ज गर्न माग भएअनुसार सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यो कार्यक्रममा नेपालको आर्थिक विकासमा प्राविधिक क्षेत्रको महत्वका विषयमा विज्ञहरुसहितको प्यानलगत छलफल भएको थियो ।
अध्यापक तथा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार लालहरि पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा विज्ञ सदस्यका रुपमा सामाजिक विकास मन्त्रालय लुम्बिनीका सचिव दिवाकर भण्डारी, इन्स्योर परियोजनाका टीम लिडर रबिन्द्र बहादुर सिंह, सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालय निर्देशक अच्युतराज तिमिल्सिना, ठाकुरबाबा नगरपालिका बर्दियाका उपप्रमुख बिनाकुमारी भट्टराई र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली रहनुभएको थियो । उहाँहरुले आफ्नो क्षेत्रबाट प्राविधिक शिक्षाका लागि आफ्नो तर्फबाट समन्वय तथा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा प्रमुख अतिथि रहेका तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यस्ता कार्यक्रममले सबै पक्षलाई सहजता ल्याउने बताउनुभयो ।
प्रतिष्पर्धामा होटल म्यानेजमेन्टबाट तिलोत्तमाको शान्ति नमुना स्कुलका विजयबहादुर बुढामगर, आइटीतर्फ रुपन्देही लीलाराम न्यौपाने मावि भैरहवाका सिद्धार्थ यादव, अटोमोबाइलतर्फ महाकवि देवकोटा माविका सन्तोष चौधरी प्रथम भइ पुरस्कृत हुनुभएको छ । त्यसै गरी उत्कृष्ट उद्योगीतर्फ लोक शुशिला अठो कन्सर्न, पन्जकन्या ग्रुप, लिटमस इन्डष्ट्रीज, विश्राममबाटिका होटल, क्रिम हाइडल, भैरहव टेक्नोपार्क, आरम्भ निर्माण सेवा तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ दुधधारी मावि कपिलवस्तु, पब्लिक माध्यमिक विद्यालय, कोरिया बहुप्राविधिक शिक्षालय, तुल्सीपुर सेन्टर मावि, भेरी प्राविधिक शिक्षालय पुरस्कत भएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताउनुभयो ।
त्यस्तै उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति पाउने शान्तिनमुना माविका लक्ष्मी भण्डारी, शान्तिनमुना माविका आयुश कोहार, जनता माविका सन्दीप धवल, मावि तुलसीपुर सेन्टरका सिमा रावत, कोरिया नेपाल पालिटेक्निकल इन्टिच्युटका अमिश थारु सरस्वती मावि घोराही दाङका सलिना डाँगी पुरस्कृत भएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
