बुधवार , मंसिर २, २०८३
काठमाडौं, २ मंसिर । नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने क्लव बनाएर पार्टी नबन्ने बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै यस्तो बताउनुभएको हो । उहाँले विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह निर्माण गर्दैमा पार्टी सङ्गठन बलियो नहुने टिप्पणी गर्नुभयो ।
उहाँले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने लक्ष्यसहित सङ्गठन निर्माण र परिचालनमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । निर्वाचनसम्म आराम नगरी निरन्तर सक्रियता र परिश्रमका साथ अभियानमा जुट्न उहाँले आग्रह गर्नुभयो । एमाले सशक्त सङ्गठनसहित निर्वाचनमा होमिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्नैपर्ने छ । हामीसँग लड्न आउनेहरु यो निर्वाचनमार्फत सङ्गठन बनाउन खोज्दैछन्, हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, विभिन्नतिरका विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर हिड्या छन्, पार्टी त बन्दैन अहिले । त्यसकारण उनीहरु क्लव बनाएर चुनाव लड्ने गरी जाँदैछन् ।
हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ । एउटै मात्रै कुराको, हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई फलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ। चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहनेछ र हामी त्यसरी अगाडि बढ्नेछौँ ।’
उहाँले विगतमा निर्वाचन एमालेका लागी असहज भएपनि अब भने नेता तथा कार्यकर्तामा निर्वाचन जित्ने आत्मविश्वास बढेको बताउनु भयो । त्यसलाई परिणाममा बदल्न सक्रियता र क्रियाशीलता आवश्यक रहेको उहाँको भनाई छ । स्थानीय तह निर्वाचनसम्मको समयलाई आराम गर्ने नभई परिश्रम गर्ने समयका रूपमा लिएर काम गर्न उहाँले निर्देशन दिनुभयो । आगामी सबै निर्वाचन एमालेका लागी जित्नैपर्ने दबाब रहेको उहाँको भनाई छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij