२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

चलचित्र विकास बोर्डबाट मनिष पन्थले पाए विशेष चलचित्र परिचयपत्र

शुक्रवार , जेठ ८, २०८३

  • 421
    Shares
  • 421
    Shares
  • रुपन्देही, ८ जेठ । बहुआयामिक सर्जक, चलचित्रकर्मी, फोटो पत्रकार र नेपाली चलचित्र क्षेत्रका प्रतिभाशाली र समर्पित सर्जक मनिष पन्थ (वास्तविक नाम : मनिराम पन्थ) ले कम उमेरमै सिर्जनात्मक यात्राको सुरुवात गरी आज आफूलाई एक सफल, बहुआयामिक चलचित्रकर्मीका रूपमा स्थापित गरिसकेका छन् । १६ वर्षको कलिलो उमेरमै छायांकन, निर्देशन र सम्पादनजस्ता प्राविधिक विधाबाट आफ्नो यात्रा प्रारम्भ गरेका उनले निरन्तर साधना, मेहनत र नवीन सोचका साथ नेपाली कला क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन् ।

    बहुमुखी सिर्जनात्मक क्षमताका धनी मनीष पन्थ केवल क्यामेराम्यान वा निर्देशक मात्र होइनन् । उनी एक सक्षम कथाकार, पटकथा लेखक, संवाद लेखक तथा गीतकार पनि हुन् । चलचित्र तथा वृत्तचित्रका कथा, पटकथा र संवाद लेखनदेखि गीतका शब्द सिर्जनासम्म उनको योगदान उल्लेखनीय छ ।

    उनका सिर्जनामा यथार्थपरकता, सामाजिक सन्देश र भावनात्मक गहिराइ स्पष्ट देखिन्छ । चलचित्र जिन्दगानी दर्पण छायाँ फिल्म नारायणहिटी दरबारमा खिच्दा अत्यन्तै चर्चा बटुलेको थिए । अहिलेको भाषामा भन्दा उतिबेला नै भाइरल भएका थिए ।

    मि नचन.jpg

    चलचित्र, वृत्तचित्र तथा सिर्जनायात्रा
    उनको पहिलो चलचित्र ‘वास्तविकता’ बाट सुरु भएको यात्रा आज विभिन्न सफल कृतिहरूमा विस्तार भएको छ । उनले थुप्रै चलचित्र, वृत्तचित्र, म्यूजिक भिडियो तथा टेलिभिजन सिरियलहरूमा सफलतापूर्वक छायांकन तथा निर्देशन गरेका छन् । वास्तविकता, औंठाछाप, यो कस्तो मायाँ, के नाता होला, मेरो साथी, आफन्तको मायाँ, रिक्सावाला न्यायदाता, जिन्दगानी दर्पणछायाँ, हाम्री चेली, उर्वशी, डिभोर्श, वल्र्ड कप इन नेपाल, गुल्मेली दाइ एवम् भोजपुरी चलचित्रः ‘दहेज चाहिँ दहेज्’ र अन्टार्कटिकामा नेपाली माटो, नरसिंह वृत्तचित्र निर्माण गरिसकेका छन् । यी कृतिहरूले उनको सशक्त छायांकन, यथार्थपरक प्रस्तुति र सृजनात्मक दृष्टिकोणलाई उजागर गर्छन् ।

    नयाँ प्रयोग र सिर्जनात्मक पहल गर्न रुचाउने उनले नेपाली साहित्यिक एवम् कला क्षेत्रमा नयाँ आयाम थप्दै उनले कवि दलबहादुर गुरुङको ‘रेक्सा’ कवितालाई कलाकारमार्फत अभिनय गराई नेपालमै पहिलो पटक ‘दृश्य’ कविता (Visual Poem)’ को निर्माण गरेका थिए । यो कार्य उनको सिर्जनात्मक साहस र नवप्रयोगप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो ।

    मनिष पन्थले टेलिभिजन क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । ‘कथा चेलीको’ लेखन, छायांकन, सम्पादन तथा निर्देशन गरेका थिए । उक्त सिरियल अत्यन्त सफल र चर्चित भएको थियो ‘देखियो नि’ हाँस्य सिरियलको लेखनदेखि निर्देशनसम्म सम्पूर्ण जिम्मेवारी उनले बहन गरेका थिए । यी कृतिहरूले दर्शकमाझ गहिरो प्रभाव छोड्न सफल भएका छन् ।

    पुरस्कार तथा अन्तर्राष्ट्रिय सम्मान
    उनले आफ्नो उत्कृष्ट कार्यका लागि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् । उत्कृष्ट युवा पुरस्कार, उत्कृष्ट फोटो अवार्ड, म्यूजिक भिडियोमा उत्कृष्ट छायांकन, सम्पादन तथा निर्देशनवापत विदेशमा सम्मान र विभिन्न प्रतिष्ठित अवार्ड तथा सम्मान प्राप्त हुँदा उनमा सिर्जनशील काम गर्ने जोश, जाँगर र हिम्मत बढाइ दिएको छ । उनको योगदानको कदर गर्दै नेपाल सरकार,चलचित्र विकास बोर्डबाट ‘विशिष्ट चलचित्र परिचयपत्र’ समेत प्रदान गरिएको छ  ।

    फोटो पत्रकारिता र संस्थागत भूमिका

    मनिष पन्थ एक अनुभवी फोटोग्राफर तथा फोटो पत्रकार पनि हुन् । साथै विभिन्न संस्थाहरूमा सक्रिय रहँदै नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीका  पूर्वअध्यक्ष, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय समिति सदस्य, नेपाल उद्यान महासंघका केन्द्रीय प्रेस सल्लाहकार, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको सल्लाहकार, चलचित्र पत्रकार संघ, रुपन्देहीको सल्लाहकार समेत छन् ।

    पारिवारिक पृष्ठभूमि
    बाबा, पुष्करनाथ पन्थ र आमा पदमकुमारीका जेठा छोरा मनिष पन्थको पारिवारिक साथले नै सफलताको आधार बनेको छ । श्रीमती कमला तिवारी, छोरी स्पन्दन र छोरा स्वभाव पन्थ छन् । बुटवलमा विगत ३० वर्षदेखि श्रीनगर फोटो स्टुडियो, श्रीमती कमलाले सञ्चालन गरिरहेकी छिन् । छोरी स्पन्दन भारतको Sharda University df VFX, Animation, Game Design र Cartoon अध्ययनरत छिन् । छोरो स्वभाव, कक्षा १२ मा विज्ञान अध्ययन गर्दै ड्रोन पाइलट, फोटोग्राफी, भिडियोग्राफी तथा एआई तालिममार्फत बाबालाई सहयोग गरिरहेका छन् । एनालगदेखि डिजिटल युगसम्म आफूलाई निरन्तर अद्यावधिक गर्दै आएका मनिष पन्थले फोटोग्राफी र भिडियोग्राफीको तालिम समेत प्रदान गर्दै आएका छन् ।  उनको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ ।

    आगामी योजना
    बाल मनोविज्ञानमा आधारित चलचित्र लेखन तथा निर्देशन गर्ने तयारीमा जुटेका मनिषले त्यस चलचित्रमा समाजमा सकारात्मक सन्देश र बाल मनोविज्ञानको गहिरो पक्ष उजागर गर्ने योजना बुनेका छन् । मनिष पन्थ एक सर्जक मात्र होइनन् । प्रेरणाका स्रोत समेत हुन् । उनको यात्रा समर्पण, संघर्ष र सिर्जनात्मकताको जीवित उदाहरण हो । नेपाली चलचित्र क्षेत्रलाई समृद्ध बनाउन उनको योगदान अतुलनीय छ । आगामी दिनहरूमा अझ उत्कृष्ट कृतिहरूको अपेक्षा गर्न सकिन्छ ।

    चलचित्र  क्षेत्रका विशिष्ट ब्यक्तित्व मनिष पन्थले यस क्षेत्रलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने उर्वर भूमि ठानेका छन् । आफ्नो ज्ञान, सीप, क्षमता र योग्यता यसैमा पोख्ने संकल्प गरेका छन् । जीवनको करिब ३ दशक यसैमा आफ्नो जीवन व्यतित गरेका उनले बाँकी जीवन पनि चलचित्र क्षेत्रमै समर्पण गर्ने प्रतिवद्धता जनाएका छन् ।