शुक्रवार , मंसिर ४, २०८३
भैरहवा, ४ मंसिर । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल, रुपन्देहीले बास्केटबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको महिला तथा पुरुष बास्केटबल टोलीमा विद्यालयका खेलाडी छनोट भएका छन् । महिला र पुरुष दुवै टोलीमा विद्यालयका विद्यार्थी छनोट हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धी बनेको छ ।
महिला बास्केटबल टोलीमा विद्यालयका कोमल कार्की (कक्षा ९), रिदम गुरुङ (कक्षा ८) र प्रसिद्धि शर्मा (कक्षा ६) छनोट भएका छन् । त्यस्तै, पुरुष बास्केटबल टोलीमा कक्षा १२ का अनुभव एसी छनोट भएका छन् ।
त्यसै गरी विद्यालयका बास्केटबल प्रशिक्षकद्वय आयुष कुँवर लुम्बिनी प्रदेशको बास्केटबल टोलीको कप्तान तथा स्यालोन कुँवर राष्ट्रिय अफिसियलका रूपमा छनोट भएका छन् । यसले विद्यालयका विद्यार्थी खेलाडीसँगै प्रशिक्षकहरूको समेत प्रदेश तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गरेको छ ।
यस उपलब्धीको अवसरमा विद्यालयले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी छनोट भएका खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा वक्ताहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको गरिमा बढाउन खेलाडीहरूलाई प्रेरित गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहायक प्राचार्य महेश पौडेल क्षेत्रीले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासका कारण यो सफलता प्राप्त भएको बताउनुभयो । उहाँले आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले शैक्षिक उत्कृष्टतासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले समान प्राथमिकता दिँदै आएको बताउनुभयो । विद्यार्थीको सर्वांगीण विकासका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा छनोट हुनु विद्यालयका लागि गौरवको विषय भएको बताउनुभयो ।
छनोट भएका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै उहाँले लुम्बिनी प्रदेशको शिर उच्च राख्ने गरी उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय परिवारले खेलाडी तथा प्रशिक्षकहरूको सफलताले आगामी पुस्तालाई समेत खेलकुदप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको थियो ।
शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आएको ब्रिटिस ग्रामर स्कूलले हासिल गरेको यस उपलब्धिलाई विद्यालयसँगै रुपन्देही र लुम्बिनी प्रदेशकै गौरवका रूपमा लिइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij