शुक्रवार , मंसिर ४, २०८३
भैरहवा, ४ मंसिर । नेपाली काँग्रेस, रुपन्देही (शेरबहादुर देउवा समूह) को जिल्ला अधिवेशन यही मंसिर ६ गते हुने भएको छ । शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थापन समितिका संयोजक अधिवक्ता कृष्ण प्रसाद पोखरेलले अधिवेशन भैरहवास्थित सनस्टार होटलमा हुने जानकारी दिनुभयो ।
संयोजक पोखरेलका अनुसार जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशन सुरु हुनुअघि आइतबार बिहान ११ बजे भैरहवास्थित बुद्धचोकबाट ¥याली निकालिने उहाँले बताउनुभयो । यसअघि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
अधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गर्ने र सहमति हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने पोखरेलले बताउनुभयो । अधिवेशनमा पार्टीका केन्द्रीय नेता डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । ‘यो काँग्रेसको नियमित जिल्ला अधिवेशन हो । त्यसपछि मंसिर ७ गते दाङमा लुम्बिनी प्रदेशको अधिवेशन हुँदैछ,’ उहाँले भन्नुभयो ।
पोखरेलले यसअघि सम्पन्न काँग्रेसको विशेष महाधिवेशन गगन थापा र विश्वप्रकाश शर्मा समूहको भएको टिप्पणी गर्नुभयो । अब पार्टीको आधिकारिक महाधिवेशन हुन लागेको दावी गर्दै उहाँले नियमित महाधिवेशनले सबैको भावनालाई समेट्ने बताउनुभयो । निर्वाचन आयोगले काँग्रेसको चुनाव चिह्न रुख गगन–विश्व समूहलाई दिने निर्णय गलत भएको उहाँको आरोप थियो । नियमित महाधिवेशनको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेता तथा रुपन्देही जिल्लाका केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले जिल्ला र प्रदेश अधिवेशनपछि मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले काँग्रेसको विशेष महाधिवेशन प्रायोजित रहेको आरोप लगाउनुभयो । भुसालले आगामी लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा उम्मेदवारी दिने जानकारीसमेत दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij