२०८३, मंसिर ५ गते

Nov 21 2026 | २०८३, मंसिर ५ गते

प्रवर्धन सहकारीको १६ औं साधारण सभा सम्पन्न, सदस्य हित र सुशासनमा जोड

शनिवार , मंसिर ५, २०८३

  • 100
    Shares
  • 100
    Shares
  • भैरहवा, ५ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित प्रवर्धन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना पारित गर्दै सदस्य हित, संस्थागत सुशासन र आर्थिक पारदर्शितामा जोड दिएको छ ।

    साधारण सभामा संस्थाको आर्थिक तथा प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्दै बचत, ऋण लगानी, सदस्य सेवा र संस्थाको भावी योजनाबारे छलफल गरिएको थियो । सदस्यलाई सरल कर्जा उपलब्ध गराउने, सहकारी शिक्षा, तालिम तथा अवलोकन भ्रमणका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

    संस्थाले सदस्य तथा परिवारको हितलाई लक्षित गर्दै स्वास्थ्य उपचार सहयोग, सामाजिक उत्तरदायित्व तथा विभिन्न सदस्य हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सभामा प्रस्तुत विवरण अनुसार संस्थामा ३०३ जना शेयर सदस्य रहेका छन्, जसमा १२८ महिला र १७५ पुरुष सदस्य छन् ।

    संस्थाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता तथा डा. हिरा बहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडाअध्यक्ष प्रविण जंग राणा, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे, तिलक ज्ञवाली, सुष्मा प्रधान, लेखा समिति सदस्य दीपक पौडेल, कोषाध्यक्ष पम्फा भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संस्थाका सचिव भेषनारायण बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।