२०८३, मंसिर ५ गते

Nov 21 2026 | २०८३, मंसिर ५ गते

नयाँ कलोनी टोल सुधार समितिको अध्यक्षमा कुलचन्द्र गौतम

शनिवार , मंसिर ५, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • भैरहवा, ५ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित नयाँ कलोनी टोल सुधार समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशनले कुलचन्द्र गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

    समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलबासे (के.सी.) को प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष बसन्त भट्टराईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

    संस्थाका उपाध्यक्ष कुलचन्द्र गौतमले स्वागत मन्तव्य तथा सचिव सुवास रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-11-21 at 4.31.23 PM (1).jpeg

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बेलबासेले नयाँ कलोनी टोल सुधार समिति सिद्धार्थनगर क्षेत्रकै उदाहरणीय तथा नमूना समितिका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले सामाजिक गतिविधि, सामुदायिक विकास र एकता कायम गर्न समितिले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो । महिलाहरूको सहभागीता अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    WhatsApp Image 2026-11-21 at 4.31.23 PM (2).jpeg

    विशेष अतिथि कार्यवाहक वडाध्यक्ष भट्टराईले टोल सुधार समितिहरूले समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सम्बन्ध सुदृढ गर्नुका साथै स्थानीय सरकार र नागरिकबीच सम्पर्क तथा समन्वयको सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

    साधारण सभामा समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझावसहित पारित गरिएको थियो ।

    अधिवेशनको बन्दसत्रमा अध्यक्ष कृष्ण प्रसाद पाण्डेले आफ्नो नेतृत्वको कार्यसमिति विघटन भएको घोषणा गर्दै अधिवक्ता लोकनाथ पन्थको संयोजकत्वमा गठित निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्न जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

    निर्वाचन समितिले सर्वसम्मतिका आधारमा कुलचन्द्र गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुवास रिजाल, सचिवमा सुमन पौडेल र कोषाध्यक्षमा गंगाधर भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा ध्रुव काफ्ले, समीर कार्की, कृष्ण बहादुर कुँवर, सुशीला पोखरेल, पम्फा पन्थ भट्टराई, विद्या गौतम र श्याम अग्रवाल चयन हुनुभएको छ ।

    निर्वाचन समितिका संयोजक अधिवक्ता लोकनाथ पन्थले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । शपथपछि नवनिर्वाचित अध्यक्ष गौतमले प्रतिबद्धता मन्तव्य राख्दै टोलको समग्र विकास, सामाजिक एकता, आपसी सहयोग र रचनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नयाँ नेतृत्व चयन भएसँगै समितिले आगामी दिनमा सामुदायिक विकास, सामाजिक सद्भाव, सरसफाइ, पूर्वाधार सुधार तथा नागरिक सहभागीताका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।