बिहिवार , मंसिर ४, २०८२
हरिकला कुमाल सामाजिक अभियन्ता हुन् । राजनीतिमा उनको सामान्य चासो छ । वन, वातावरण र जैविक विविधता संरक्षण क्षेत्रमा उनको रुची अपार छ । हरिकला, सात दिदीबहिनीमध्येकी ठूल्कान्छी हुन् ।
पाल्पा, तिनाउको दोभान माध्यमिक विद्यालयबाट वि.सं. २०६६ सालमा एसएलसी गरेपछि दोभान, नुवाकोट नजिकैको गाउँ खेतखोलाका प्रेम कुमालसँग अन्तरजातीय प्रेम विवाह गरे । बिहे गरेको दुई वर्षसम्म घरधन्दा र बुहार्तनका कारण पढ्न सकिनन् । २०७१ सालमा नेपाली र स्वास्थ्य मूल विषय लिइ दोभान माविबाटै कक्षा १२ उत्तीर्ण गरेपछि उनको मनमा हौसला जाग्यो । आँट पलायो तर, टाढाको क्याम्पस, सन्तानको हेरविचार र घरव्यवहारले उच्च शिक्षा पढ्ने धोकोलाई उनले मनमा पोको पारिन् ।
छोरो आयुषले १४ वर्ष पुग्दै गर्दा बुटवलको कान्ति माविमा कक्षा ८ पढ्दैछन् । ९ वर्षकी छोरी अनुष्काले दोभान माविको अंग्रेजी माध्यममा कक्षा तीनमा पढ्दैछिन् ।
सन्तानको सुख र परिवारको मायालाई मनमा कसेर प्रेम यतिबेला वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका छन् । हुन त हरिकला र प्रेम मिलेर गाउँमै आधुनिक बंगुरपालन गरी परिवारसँगै बस्ने रहर बुनेका थिए । तर, बंगुरपालन उद्यमले उँभो नलगाएपछि प्रेमले पुनः वैदेशिक यात्रामा पाइला चाले ।
यतिबेला हरिकला घरमा सासु र सन्तानहरुसँगै बस्छन् । दुहुनो भैंसी पालेकी छिन् । धूमभरि कुखुरा छन् । बेमौसमी तरकारी फलाएकी छिन् । यी सबै उत्पादन बेच्न उनी नुवाकोटका होटलहरु पुग्छिन् । घाँसपात गर्छिन् । सन्तानका पढाइमा सहयोग पुर्याउँछिन् । बुढी सासुको स्याहारसुसार र हेरविचार गर्छिन् ।
नुवाकोटमा रहेको नुवाकोट महिला समूह र बेवरेचिउरीगौंडा सामुदायिक वन उपभोक्ता समुहकी सचिव हुन् । तिनाउमा रहेका वनहरुको छाता संगठन सामुदायिक वन समन्वय समितिकी कार्यसमिति सदस्य छिन् । नेपाल उद्यान महासंघकी केन्द्रीय सदस्य समेत हुन् । तिनाउ–२, महिला सञ्जालकी अध्यक्ष समेत बनेकी उनले सामाजिक कार्य गर्न समयको उचित व्यवस्थापन गर्छिन् ।
घरधन्दा र नानीबाबुलाई स्कूल पुर्याएपछि उनी तिनाउ साना किसान कृषि सहकारीले दोभानमा सञ्चालन गरेको कृषि केन्द्रको प्रोमोटरका रुपमा यही वर्षको जेठदेखि जागिरे छिन् । दिनभर त्यही काम गर्छिन् ।
हुन त उनले नेपाल रेडक्रस सोसाइटी पाल्पाले तिनाउ गाउँपालिकामा सञ्चालन गरेको खानेपानी तथा सरसफाई स्वच्छता परियोजनामा दुई वर्ष सामाजिक परिचालकका रुपमा काम गरिन् । तिनाउ रेडक्रस शाखामा कोरोनाकालमा कोरोनाबाट बच्न सकिने सामग्रीहरु वितरण गर्ने काममा सहयोगी भूमिका निर्वाह गरिन् ।
त्यसपछि परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) नामक संस्थाको सामाजिक परिचालकका रुपमा तिनाउ गाउँपालिकाभित्र दुई वर्ष सेवारत् थिइन् ।
फुर्सद कुन चरीको नाम हो हरिकलालाई थाहा छैन । सरर स्कुटी चढेको देख्नेहरुले उनलाई सुखी नै देख्छन् । तर, उनको कठिन परिश्रम, जीविकोपार्जनका लागि गरिएका अभ्यास र प्रयास अनुभव गर्ने कि उनै आफै छिन् कि उनका घरवरिवार ।
नरम बोली, मिलनसार व्यवहार र हाँसेर बोल्ने उनका बानीले सबैलाई मोहित तुल्याएको छ । देशमा जति दुःख गरे पनि नपुगेको ठानेर एकपटक वैदेशिक रोजगारीका लागि उड्ने सपना बुनेर पासपोर्ट समेत बनाएकी थिइन् । तर, श्रीमान् प्रेमको प्रेमपूर्ण अनुरोधमा घरमै बसेर परिवारको सेवा गर्न राजी भइन् र यतिबेला हरिकला यतै गाउँतिर छिन् ।
खुसी हुन् टिकटक बनाउँछिन् । नृत्य गर्छिन् र दुःख बिसाउँछिन् । संघर्षपूर्ण जीवनका सारथी हरिकलाबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij