
शनिवार , मंसिर २५, २०७८
बुटवल, २५ मंसिर ।
बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ को उपाधिका लागि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाबीच भिडन्त हुने भएको छ ।
शनिबार भएको पहिलो सेमीफाईनल खेलमा तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिकालाई ३–० तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाईनल भेट पक्का गरेको हो । फाईनल खेल आइतबार दिउँसो १ बजे हुने आयोजक बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले बताए ।
प्रतियोगितामा बेनी नगरपालिका तेस्रो स्थान हासिल गरेको छ । बेनीले भिमदत्त नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
त्यसै गरी उपविजेता टिमले नगद ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तृतीय टिमले नगद ३५ हजार रुपैयाँ तथा चौथौ टिमलाई १५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरी १० टिमले भाग लिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij