सोमवार , आश्विन १२, २०८३
भैरहवा, १२ असोज । नेपाली काँग्रेसका युवा नेता विशाल कुमार चौधरीले पार्टीको साधारण सदस्य तथा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारी र पदबाट राजीनामा दिनुभएको छ ।
चौधरीले काँग्रेस रूपन्देहीका सभापतिलाई सम्बोधन गर्दै सोमबार राजीनामा दिनुभएको हो । उहाँले पार्टीमा विभिन्न समयमा दिइएको जिम्मेवारीलाई आफ्नो क्षमता, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।
पार्टीको संगठन निर्माण, सामाजिक सेवा तथा जनताको पक्षमा निरन्तर योगदान गर्ने प्रयास गर्दै आएको स्मरण गराउँदै चौधरीले पछिल्लो समय उत्पन्न व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण काँग्रेसमा रहेर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको बताउनुभयो ।
‘आजकै मितिदेखि लागू हुने गरी नेपाली काँग्रेस पार्टीको साधारण सदस्यतालगायत पार्टीमा मैले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारी तथा पदबाट स्वेच्छाले राजीनामा दिएको छु,’उनले पत्रमा उल्लेख गनुभएको छ । चौधरीले पार्टीमा रहँदा आफूलाई विश्वास गरी विभिन्न जिम्मेवारी प्रदान गर्ने अग्रज नेता, साथी, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ ।
आफ्नो आगामी सामाजिक तथा राजनीतिक यात्रामा पनि सबैको सद्भाव, सहयोग र शुभेच्छा प्राप्त हुने उहाँको अपेक्षा छ ।
मायादेवी गाउँपालिका–८, बसडिलवा निवासी चौधरी काँग्रेसको क्षेत्रीय प्रतिनिधि, नेपाल तरुण दलको जिल्ला सदस्य तथा नेपाल थारु संघ मायादेवी गाउँपालिकाका अध्यक्षलगायत जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । उहाँ लुम्बिनी प्रदेशको पूर्व अधिवेशन प्रतिनिधिसमेत हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij