बिहिवार , कार्तिक २६, २०८३
भैरहवा, २६ कार्तिक । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् ।
१२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले यस वर्ष पनि बुधबार भाइटीका लगाएका छन् । उनीहरूबीच विगत पाँच वर्षदेखि हरेक वर्ष एक–अर्कालाई टीका लगाउने परम्परा निरन्तर छ ।
पोखरेलका बुवा सागर पोखरेलका अनुसार दिदीबहिनी नभएकै कारण छोराहरूले भाइटीकाको महत्व र खुसीबाट वञ्चित भएको महसुस नगरून् भन्ने उद्देश्यले यस्तो परम्परा सुरु गरिएको हो । ‘हाम्रा दुई छोराले विगत पाँच वर्षदेखि आफैँ एक–अर्कालाई भाइटीका लगाउँदै आएका छन् । दिदीबहिनी नभए पनि भाइले दाइलाई र दाइले भाइलाई टीका लगाउँदा दिदीबहिनी छैनन् भन्ने खिन्नता नहोस् भनेर यस्तो गराएको हुँ’, उहाँले भन्नुभयो ।
जेठा छोरा सम्राट र कान्छा छोरा समृद्धले एक–अर्कालाई टीका लगाएर भाइटीकाको खुसी साटासाट गर्दै आएका छन् । यसले दिदीबहिनी नभएका परिवारमा पनि आपसी माया, सद्भाव र आत्मीयताका साथ भाइटीका मनाउन सकिन्छ भन्ने सन्देश दिएको सागरको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
