आइतवार , कार्तिक २२, २०८३
बुटवल, २२ कार्तिक । नेपाली काँग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले पार्टीमा अनावश्यक विवाद गरेर आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा काम गरेर जनता र कार्यकर्ताको मन जित्नुपर्ने बताउनुभएको छ । उहाँले दुईतिहाई बहुमतप्राप्त सरकारले पनि गैरराजनीतिक ढंगका नचाहिँदा झ्याउला काम छोडेर जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सरकारले जनताको काम गर्नुभन्दा भ्रम फैलाउने र अनावश्यक गतिविधिमा समय खर्चिरहेको र प्रतिपक्ष आफैभित्र विवाद र झगडा गरेर अलमल गरिरहेको टिप्पणी गर्नुभयो । ‘काम गरेर जनमत बढाउने हो, अनावश्यक हल्ला र भ्रम फैलाएर जनमत बढ्दैन,’ उहाँले भन्नुभयो । ‘सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार चल्दैन । जनताको काम गरेर जनमत आर्जन गर्नुपर्छ ।’
उहाँले गल्ती भएको भए कानूनी प्रक्रियाबाट कारवाही गर्नुपर्ने भन्दै काम प्रभावित हुने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गर्नुभयो । युवाको उर्जा र क्षमतालाई विकास निर्माणमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । सरकारका गतिविधिमा स्थिरता र निर्णयमा परिपक्वता नदेखिएको भन्दै उहाँले गम्भिर भएर मुलुक निर्माणमा लाग्न सरकार र प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
काँग्रेस सभापति गगन थापालाई आफूले लामो समयदेखि चिनेको उल्लेख गर्नुभयो । थापालाई कारवाही गर्नुपर्ने काम गरेको भए कानूनी प्रक्रियाबाट कारवाही गरेर देखाउन सरकारलाई उहाँले चुनौती दिनु भयो ।
प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराउनु अहिलेको राजनीतिक परिस्थितिको एउटा कारण भएको बताउनुभयो । त्यसबेला आफूले एमाले, काँग्रेस र माओवादीका शीर्ष नेताहरूलाई यस विषयमा सचेत गराएको उहाँको भनाइ थियो ।
पद र व्यक्तिगत महत्वाकांक्षाका कारण नेतृत्वले समयमै आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उल्लेख गर्दै भण्डारीले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न नहुने धारणा राख्नुभयो । लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलको योगदान रहेको उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वले त्यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘हामीले बनाएको यो लोकतान्त्रिक घरभित्र बालेन आएका हुन् । यो लोकतान्त्रिक घर बनाउन हजारौंको रगत र बलिदान परेको छ,’ उहाँले भन्नुभयो, ‘आफूले टुँडीखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन ।’
कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले काँग्रेसलाई कमजोर बनाउन विभिन्न शक्ति लागे पनि सफल नहुने बताउनुभयो । गगन थापाले अघि सारेको अभियानले पार्टीसँगै मुलुकको भविष्यसमेत राम्रो बनाउने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङ र बालकुमारी भण्डारीले वर्तमान सरकारका गतिविधि विधिको शासनविपरीत भइरहेको टिप्पणी गर्दै सरकारले प्रतिशोध साँधेर कर्मचारी, पत्रकार, दलका नेता र कार्यकर्तालाई तर्साउने काम गरिरहेको आरोप लगाउनुभयो । मुलुक निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने कुरामा उहाँहरुको जोड थियो ।
काँग्रेस रुपन्देही २ का सभापति प्रजापाल गिरीको सभापतित्व र सचिव छाँया पोखरेलको सञ्चालनमा भएको सो कार्यक्रममा बोल्दै जिल्ला सभापति रामकृष्ण खाणले जनताले अब सरकारका गतिविधिबारे आवाज उठाउनुपर्ने बताउँदै पार्टीभित्र देखिएको अराजकता अन्त्य गर्न नेता तथा कार्यकर्तालाई आफ्ना आनीबानी सुधार्न आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
