२०८३, कार्तिक २२ गते

Nov 08 2026 | २०८३, कार्तिक २२ गते

तिहारको उज्यालोसँगै जीवनमा नयाँ ज्योति, रोटरीको सेवाले कोटहीमाईमा ल्यायो खुसी

आइतवार , कार्तिक २२, २०८३

  • 7
    Shares
  • 7
    Shares
  • भैरहवा, २२ कार्तिक । तिहार उज्यालो, खुसी र सद्भाव बाँड्ने पर्व हो । यही पर्वको अवसर पारेर रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रोटरीले स्वास्थ्य तथा सामाजिक सेवामार्फत समुदायमा खुसी बाँडेको छ । कसैलाई आँखाको ज्योति फर्काएर, कसैलाई स्वास्थ्यप्रति सचेत बनाएर त कसैलाई हिँडडुल गर्ने सहारा प्रदान गरेर रोटरीले तिहारलाई सेवाको उत्सवका रूपमा मनाएको हो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको आयोजना तथा रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी ई–क्लब अफ मेडिको फ्युजनको सह–आयोजनामा कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा सञ्चालित तीनदिने बृहत् स्वास्थ्य शिविर विभिन्न स्वास्थ्य तथा सामाजिक सेवा प्रदान गर्दै सम्पन्न भएको छ । शिविरबाट कोटहीमाई, मर्चवारी, सम्मरीमाईलगायत आसपासका क्षेत्रका हजारौं नागरिक लाभान्वित भएका छन् ।

    WhatsApp Image 2026-11-08 at 11.25.13 AM (2).jpeg

    १५० जनाको मोतियाबिन्दुको शल्यक्रिया

    शिविरमा करिब १ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणपछि आवश्यकताअनुसार ६ सय जनालाई निःशुल्क रिडिङ चस्मा वितरण गरिएको छ भने मोतियाबिन्दुका १५० जना बिरामीको शल्यक्रिया सम्पन्न गरिएको छ ।

    शल्यक्रिया गरिएका बिरामीलाई १० दिनका लागि आवश्यक औषधि र आँखाको सुरक्षाका लागि कालो चश्मासमेत प्रदान गरिएको आयोजकले जनाएको छ । शल्यक्रिया हुन बाँकी बिरामीको छठपछि लुम्बिनी नेत्रालय, भैरहवामा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ ।

    महिला स्वास्थ्य र महिनावारी स्वच्छतामा प्राथमिकता

    महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत ३५० जना महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा विभिन्न स्त्रीरोगसम्बन्धी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १५ जनामा VIA Positive, Cervical Polyps, Uterine Vaginal Prolapse (UVP)  तथा स्तनमा गाँठोलगायत समस्या पहिचान भएका छन् ।

    थप उपचार आवश्यक देखिएका महिलालाई आम्दा अस्पताल, बुटवल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचारका लागि प्रेषण गरिएको छ।

    त्यसै गरी स्थानीय कलेजका ४ सय छात्रालाई पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गरिएको थियो ।उनीहरूलाई महिनावारी स्वच्छता, सरसफाई तथा प्याडको सुरक्षित प्रयोगसम्बन्धी सचेतना र व्यावहारिक तालिमसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

    WhatsApp Image 2026-11-08 at 11.26.05 AM.jpeg

    २० जनालाई ह्वीलचेयर वितरण, ४०० बढीलाई स्वास्थ्य सेवा

    शिविरमा अपांगता भएका तथा आर्थिक रूपमा विपन्न २० जनालाई ह्वीलचेयर वितरण गरिएको छ । थप २० थान ह्वीलचेयर तिहारपछि वितरण गरिने आयोजकले जनाएको छ । यससँगै कुल ४० जना लाभग्राहीलाई ह्वीलचेयर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    यसका अतिरिक्त ४०० भन्दा बढी नागरिकले नाक, कान, घाँटी (ईएनटी) तथा सामान्य चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि प्राप्त गरेका छन् ।

    शिविरमा मझगावाँ स्वास्थ्य चौकीले प्रयोगशाला परीक्षण तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) ले भिडियो एक्स–रे र एक्स–रे सेवामा प्राविधिक सहयोग गरेका थिए ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य

    परियोजनालाई सफल बनाउन क्यानडास्थित रोटरी क्लब अफ पिटरबरो, ICO Foundation Canada, Partners in Possibility Foundation, Snow Leopard International Medicine तथा Glasswater Foundation लगायतका संस्थाले आर्थिक तथा संस्थागत सहयोग गरेका थिए ।

    अन्तर्राष्ट्रिय सहयोग जुटाउन तथा परियोजनालाई अगाडि बढाउन तत्कालीन डिष्ट्रिक्ट गभर्नर रोटरियन विनोद कोइरालाको विशेष पहल र सहजीकरण रहेको थियो ।

    प्राविधिक तथा स्वास्थ्य सेवातर्फ मातृका आई केयर, काठमाडौं, आम्दा अस्पताल, बुटवल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर तथा लुम्बिनी नेत्रालय प्रा.लि.को महत्वपूर्ण योगदान रहेको थियो ।

    परियोजनाको समन्वय तथा व्यवस्थापनमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्वअध्यक्षद्वय कृष्ण पाण्डे र प्रेम शर्मा लोहनीको महत्वपूर्ण भूमिका रहेको थियो । सह–आयोजक रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष चन्द्र सुवेदी तथा रोटरी ई–क्लब अफ मेडिको फ्युजनका अध्यक्ष डा. बिनेश शाक्यको नेतृत्वमा आएका चिकित्सक तथा प्राविधिक टोलीले सेवा प्रवाहमा योगदान दिनुभएको थियो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीको नेतृत्वमा क्लबका पदाधिकारी तथा सदस्यहरूले व्यवस्थापन, स्थानीय समन्वय र सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गरेका थिए । रोटरी क्लब अफ पिटरबरो, क्यानडाका सदस्यहरूको सहभागिताले अभियानलाई अन्तर्राष्ट्रिय रोटरी सहकार्यको उदाहरण बनाएको थियो ।

    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रुद्रराज सिग्देलको नेतृत्वमा स्वयंसेवक टोलीले बिरामीको सहजीकरण तथा व्यवस्थापनमा सहयोग गरेको थियो । साथै रोटरियन उपेन्द्र यादव, टेक राज पाण्डे, निर्मल बोम्जन र रोट्रयाक्टर रुद्रराज सिग्देलले संयोजन टोलीसँगै स्वयंसेवी सेवा प्रदान गर्दै शिविर सफल बनाउन योगदान दिनुभएको थियो । मर्चवार आदर्श बहुमुखी क्याम्पस परिवारको सहयोग पनि उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।

    स्थानीय सरकार र समुदायको साथ

    कोटहीमाई गाउँपालिका वडा नम्बर ५ कार्यालयले शिविरका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा सहयोग गरेको थियो । वडाध्यक्ष संजय कुमार सैनीको सक्रिय समन्वयले शिविर सञ्चालन सहज बनेको थियो ।

    WhatsApp Image 2026-11-08 at 11.25.11 AM.jpeg

    सम्मरीमाई तथा मर्चवारी गाउँपालिकालगायत स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले समेत शिविरलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेका थिए ।

    सेवाको उज्यालो दीर्घकालसम्म रहनेछ

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले यस अभियानले रोटरीको सेवाभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य र सामुदायिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले सम्पूर्ण दातृ निकाय, साझेदार क्लब, चिकित्सक, प्राविधिक टोली, स्थानीय सरकार, क्याम्पस परिवार, रोटरियन, रोट्रयाक्टर, स्वयंसेवक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार कसैलाई आँखाको ज्योति फर्काउनु, कसैलाई स्वास्थ्यप्रति सचेत बनाउनु, कसैलाई आत्मसम्मानका साथ जीवनयापन गर्न सहयोग गर्नु र कसैलाई हिंड्डुल गर्ने सहारा दिनुभन्दा ठूलो उपहार अरू हुन सक्दैन ।

    WhatsApp Image 2026-11-08 at 11.26.34 AM.jpeg

    तिहारमा बालिएको दियो केही समयपछि निभ्न सक्छ । तर, कसैको आँखामा फर्काइएको ज्योति, जीवनमा थपिएको आत्मविश्वास र प्रदान गरिएको सहाराको प्रभाव दीर्घकालसम्म रहिरहनेछ, ’उहाँले भन्नुभयो–‘यस अर्थमा कोटहीमाईमा सञ्चालित बृहत् स्वास्थ्य शिविर स्वास्थ्य सेवा प्रदान गर्ने अभियान मात्र नभई मानवता, सद्भाव र सेवाको दीपावली बनेको छ ।’