आइतवार , कार्तिक २२, २०८३
काठमाडौं, २२ कार्तिक । कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार उद्योगमा व्यापक परिवर्तन ल्याइरहेका बेला पत्रकारको मानवीय भुमिका र व्यावसायिक जिम्मेवारीलाई प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूले बताएका छन् ।
चीनको बेइजिङमा शनिवार शुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी प्रतिनिधिहरूले एआईले पत्रकारितामा सिर्जना गरेका अवसर र चुनौतीबारे छलफल गर्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् । ‘बौद्धिकताको युगमा सञ्चारमाध्यमः सहमतिदेखि कार्यान्वयनसम्म’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा समाचार उत्पादन, सम्पादन, अनुवाद तथा वितरणमा एआईको बढ्दो प्रयोगबारे चर्चा गरिएको थियो ।
इजिप्टको राज्य सूचना सेवाका अध्यक्ष अलाअ अल–दिन जकारिया युसेफले एआईले समाचार अनुवादमा गति प्रदान गर्न सक्ने भए पनि त्यसको सन्दर्भ, संस्कृति र कुटनीतिक संवेदनशीलता जोगाउन अनुभवी अनुवादक तथा सम्पादकको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै, भियतनाम समाचार एजेन्सीकी महानिर्देशक भु भियत ट्राङले प्रविधिले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने बताइन् । संवाददाताहरू जनताको नजिक रहेर महत्वपूर्ण घटना र समाचार सङ्कलनमा अग्रपङ्क्तिमा रहने उल्लेख गर्दै उनले प्रत्येक समाचारको पछाडि मानवीय ज्ञान, व्यावसायिक निर्णय क्षमता र जिम्मेवारी रहने धारणा राखिन् ।
बुरुन्डीका राष्ट्रपतिका प्रवक्ता न्यान्सी–निनेटे मुटोनीले नयाँ सञ्चारमाध्यम र एआईको तीव्र विकासबाट उत्पन्न चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, तालिम र प्रविधि आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । सिन्ह्वा समाचार एजेन्सी र बेइजिङ महानगर सरकारको संयुक्त आयोजनामा भइरहेको सम्मेलन नोभेम्बर ५ देखि ९ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूले एआई युगमा पत्रकारिताको भविष्य, प्रविधिको जिम्मेवार प्रयोग र अन्तर्राष्ट्रिय सञ्चार सहकार्यका विषयमा छलफल गरिरहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
