मंगलवार , कार्तिक २४, २०८३
पश्चिम नवलपरासी, २४ कार्तिक । चाडपर्वका बेला बजारमा बढ्दै गएको फूलको मागलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित मिश्रौलीमा गरिएको व्यवसायिक सयपत्री फूलखेतीले उत्साहजनक सफलता हासिल गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले सुरु गरिएको फूलखेतीले राम्रो बजार पाएपछि कृषकसमेत उत्साहित भएका छन् ।
नेपाल सरकारका वरिष्ठ डिभिजन इन्जिनियर तथा लुम्बिनी प्रदेश सरकारको सिँचाइ महाशाखा प्रमुखबाट अवकाशप्राप्त ध्रुव पौडेल र होटल व्यवसायी नारायण न्यौपानेको संयुक्त लगानीमा फूलखेती सुरु गरिएको हो। । उहाँहरूले एकीकृत कृषि प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्यसहित ६ बिघा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
पहिलो वर्ष परीक्षणका रूपमा १५ कट्ठा क्षेत्रफलमा गरिएको सयपत्री फूलखेतीले अपेक्षाभन्दा राम्रो उत्पादन र बजार पाएको छ । लक्ष्मीपूजासम्म ८ देखि १० क्वीन्टल फूल तथा १ हजार ५ सय भन्दा बढी माला बिक्री भइसकेको सञ्चालकहरूले बताएका छन् । तिहारको दिनसम्म बजारको माग धान्नसमेत कठिन हुने अवस्था आएको उहाँहरूको भनाइ छ ।
लामो समय सरकारी सेवामा बिताएर अवकाशपछि कृषि क्षेत्रमा सक्रिय भएका पौडेलले स्वदेशी उत्पादनको प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने उद्देश्यले फूलखेती रोजेको उहाँहरुको भनाइ छ । ‘म नेपाल सरकारको वरिष्ठ डिभिजन इन्जिनियर तथा लुम्बिनी प्रदेशको सिँचाइ महाशाखा प्रमुखबाट अवकाशप्राप्त कर्मचारी हुँ । ३०–३५ वर्ष सरकारी सेवामा बिताएपछि अवकाशपछिको जीवनलाई देशको सेवा र उत्पादनसँग जोड्ने सोच बनाएँ,’ पौडेलले भन्नुभयो, ‘तिहारलगायत चाडपर्वमा विदेशबाट आयात हुने फूललाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यले यो क्षेत्र रोजेका हौं ।’
पहिलो प्रयासस्वरूप १५ कट्ठामा गरिएको सयपत्री फूलखेती सफल भएपछि आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो आफ्नै गाउँको माटोमा श्रम र पसिना खर्चेर उत्पादनसँग जोडिँदा आर्थिक लाभसँगै आत्मसन्तुष्टिसमेत मिलेको पौडेलको भनाइ छ ।
फार्मको बजार व्यवस्थापन तथा कृषि गतिविधिको जिम्मेवारी सम्हालिरहेका होटल व्यवसायी न्यौपानेका अनुसार ‘रिभरसाइड एग्रो भिलेज एण्ड रिसोर्ट प्रा.लि.’ मार्फत एकीकृत कृषि फार्म सञ्चालन गरिएको हो । उत्पादित फूल बुटवल, भैरहवा, परासी, सेमरी, गोपीगञ्ज, जिमिरेभार र बर्दघाटलगायतका बजारमा आपूर्ति भइरहेको उहाँले बताउनुभयो । स्थानीय उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले अन्य बाहिरी व्यापारी तथा थोक विक्रेताको तुलनामा १५ देखि २० प्रतिशतसम्म सहुलियतमा फूल बिक्री गरिएको न्यौपानेले जानकारी दिनुभयो । ‘पहिलो प्रयासमै उत्पादन र बजारको माग उत्साहजनक देखिएको छ । स्थानीय बजारमै फूल आपूर्ति गरिरहेका छौं । यसले स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाएको छ,’ उहाँले भन्नुभयो, ‘फूलको माला बनाउने काममा स्थानीय महिलालाई प्रतिमालाका दरले पारिश्रमिक दिएर रोजगारीसमेत उपलब्ध गराएका छौं ।’
पहिलो वर्षको परीक्षणमै प्राप्त सफलता र बजारको उच्च मागले सञ्चालकहरूलाई थप उत्साहित बनाएको छ । आगामी दिनमा ६ बिघा क्षेत्रफलमै सयपत्रीसहित अन्य कृषि उपज तथा फलफूल खेतीसमेत विस्तार गर्ने उहाँहरूको योजना छ । यसका लागि जिल्ला कृषि ज्ञान केन्द्र, प्रदेशको कृषि मन्त्रालय, कृषि निर्देशनालय तथा कृषि जोन केन्द्रलगायतका निकायबाट आवश्यक प्राविधिक र व्यावसायिक सहयोगको अपेक्षा गरिएको छ ।
मिश्रौलीमा गरिएको यो व्यावसायिक फूलखेतीले स्वदेशी उत्पादनको प्रवद्र्धन, फूलको आयात प्रतिस्थापन तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको सम्भावना उजागर गरेको छ । योजनाबद्ध लगानी, बजार व्यवस्थापन र स्थानीय श्रमको उपयोग गर्न सके कृषि व्यवसाय आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ भन्ने उदाहरणसमेत यसले प्रस्तुत गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
