बिहिवार , कार्तिक २६, २०८३
भैरहवा, २६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ताहिर अली भाटले मित्रराष्ट्र भारतका सांसदहरूसँग भेटघाट गरी नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल गर्नुभएको छ ।
नोभेम्बर ४ तारिखमा काठमाडौंमा भएको भेटघाटमा भारतीय विदेश सचिव विक्रम मिश्री नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासँग उहाँले विभिन्न विषयमा छलफल गर्नुभएको हो । भेटका क्रममा आफूले मुख्यतः दुईवटा महत्वपूर्ण विषयमा कुरा राखेको सांसद् भाटले जानकारी दिनुभयो ।
पहिलो उहाँले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारत सरकारको सहयोग र पहल आवश्यक रहेको बताउनुभयो । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भए नेपाल र भारत दुवै देशलाई लाभ पुग्ने तथा दुई देशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
त्यस्तै दोस्रो उहाँले भारतीय सवारीसाधन नेपालमा भन्सार प्रक्रिया पूरा गरेपछि देशभर आवतजावत गर्न पाउने व्यवस्था रहेको तर, नेपाली सवारीसाधन भारत प्रवेश गर्दा भने निश्चित दूरीसम्म मात्र जान पाउने अवस्थाबारे ध्यानाकर्षण गराउनुभयो ।
भारतमा लामो दूरीसम्म नेपाली सवारीसाधन लैजान भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले नेपाल–भारतबीचको सुमधुर सम्बन्धलाई ध्यानमा राखेर नेपाली सवारीसाधनलाई पनि भारतमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था गर्नुपर्ने आग्रह गर्नुभयो । आफूले प्राप्त गरेको जानकारीअनुसार भारत सरकारले यससम्बन्धी प्रक्रिया अगाडि बढाइसकेको सांसद् भाटले बताउनुभयो ।
त्यसै गरी नेपालको शिक्षा, स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा विगतमा झैँ आगामी दिनमा पनि भारत सरकारले सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्ने आग्रह तथा अपेक्षा आफूले राखेको उहाँले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
