शुक्रवार , कार्तिक २७, २०८३
भैरहवा, २७ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का पूर्ववडाध्यक्ष चेत बहादुर क्षेत्रीले विकास र देशमा परिवर्तनको चाहनासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको बताउनुभएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित क्षेत्रीले २०८३ असार ४ गते रास्वपाको सदस्यता लिनुभएको हो ।
आफूले वडाध्यक्ष हुँदा गरेका कामको मूल्यांकन गर्दै वडा नम्बर ५ का युवाहरूले रास्वपामा प्रवेश गर्न आग्रह गरेपछि पार्टीमा आबद्ध भएको उहाँले बताउनुभयो । ‘मैले गरेका कामको मूल्यांकन गर्दै वडा नम्बर ५ का साथीभाइ र युवाहरुले तपाईंजस्तो व्यक्ति रास्वपामा प्रवेश गर्नुपर्छ, देश र वडालाई तपाईंजस्ता व्यक्तिको खाँचो छ भन्नुभयो । हामीजस्ता युवाहरूले नै देश बनाउने हो भन्दै युवाहरूको समूह नै आएर आग्रह गरेपछि उहाँहरूको भावनालाई मनन गर्दै रास्वपाको सदस्यता लिएको हुँ,’ उहाँले भन्नुभयो ।
देश परिवर्तनको दिशामा अघि बढिसकेको अवस्थामा पुरानै राजनीतिक सोच र मान्यतामा सीमित रहन आवश्यक नरहेको उहाँको भनाइ छ । आफूले विकास र निकासका लागि रास्वपालाई उपयुक्त विकल्पका रूपमा देखेको उहाँले बताउनुभयो । ‘हामीले विकास चाहेका छौँ । विकासका लागि निकास दिन र देशलाई सही बाटोमा तीव्र गतिका साथ अघि बढाउन रास्वपाको विकल्प देखिनँ । त्यसैले रास्वपामा प्रवेश गरेको हुँ,’ खबरपात्रोसँग कुराकानी गर्दै क्षेत्रीले भन्नुभयो ।
पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पार्टीलाई उचाईमा पुर्याउन व्यक्तिगत रूपमा पनि सक्दो योगदान गर्ने बताउनुभयो । पार्टीविरुद्ध कुनै गतिविधि गरेमा पार्टीले गर्ने निर्णय स्वीकार गर्न आफू तयार रहेको उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
