आइतवार , आश्विन ११, २०८३
अर्घाखाँची, ११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभएको छ । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागीता थियो ।
पुल उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पुल निर्माण भएपछि वर्षायाममा स्थानीयबासीले भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताउनुभयो । उहाँले पुलको संरक्षण र दीर्घकालीन उपयोगको जिम्मेवारी अब स्थानीय समुदायको समेत भएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै काम गरेको बताउनुभयो । ‘३५ वर्षमा केही पनि भएको छैन भन्ने भाष्य गलत हो । यो अवधिमा थुप्रै काम भएको छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।
उहाँले विकासका पूर्वाधार निर्माणसँगै त्यसको संरक्षणमा स्थानीय समुदाय र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्माण भएका संरचनाको संरक्षण गर्न सके मात्रै त्यसबाट दीर्घकालीन लाभ लिन सकिने उहाँको भनाइ थियो ।
सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले रङ्गशिङ्ग खोलामा निर्माण भएको पुल जनप्रतिनिधिको साझा प्रयासबाट प्राप्त उपलब्धी भएको बताउनुभयो । उहाँले पुल निर्माणले शितगंगा नगरपालिकाका दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
मन्त्री घिमिरेले वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीयबासीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै पक्की पुल निर्माणपछि दैनिक आवागमन सहज हुने बताउनुभयो ।
पुल निर्माणसँगै शितगंगा नगरपालिका–११ र ९ का बासिन्दालाई आवतजावतमा सहजता भएको छ । स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल सम्म पुग्न समेत पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij