२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको अध्यक्षमा विकास पाण्डे

सोमवार , आश्विन १२, २०८३

  • 313
    Shares
  • 313
    Shares
  • बुटवल, १२ असोज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ । मञ्चको वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गर्नुभएको थियो ।

    साधारणसभालाई सम्बोधन गर्दै चौधरीले युवा पुस्ताको उर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गरेर देशको नेतृत्व अघि बढाउनुपर्ने बताउनुभयो । नेपालको पछिल्लो तीन दशकको आर्थिक तथा राजनीतिक अवस्थाको चर्चा गर्दै उहाँले परिवर्तनलाई संस्थागत गर्न नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    संक्रमणकालीन राजनीतिक अवस्थाका कारण देशमा विभिन्न विकृति भित्रिएको दावी गर्दै चौधरीले त्यसको असर आर्थिक क्षेत्रमा समेत परेको बताउनुभयो । करिब तीन करोड जनसंख्या रहेको नेपालमा ठूलो संख्यामा युवा सामान्य रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले यसले परिवार र सामाजिक संरचनामा समेत असर पारेको बताउनुभयो । ‘हरेक घर टुट्यो, सबको मन टुट्यो । यसले एउटा फरक प्रकारको आँधी ल्यायो र धेरै जनधनको नाश भयो, ’चौधरीले भन्नुभयो ।

    नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने अवस्था आए पनि परम्परागत राजनीतिक दलहरू समयअनुकूल रूपमा अघि बढ्न नसकेको उहाँको भनाइ थियो । अहिलेको पुस्ता नयाँ सोच र प्रविधिसहित अघि बढिरहेको तथा देश कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उहाँले युवा शक्ति र अनुभवी पुस्ताको ज्ञानलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नेतृत्व छनोट गर्दा राजनीतिक पहुँचभन्दा विशेषज्ञता र क्षमतालाई आधार बनाउनुपर्ने धारणा राख्दै चौधरीले कानूनी प्रणालीलाई समेत समयअनुकूल सुधार गर्नुपर्ने बताउनुभयो । कतिपय अवस्थामा कानूनले समस्या समाधान गर्नुभन्दा थप कठिनाइ सिर्जना गर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

    पूर्व सांसद समेत रहनुभएका चौधरीले देशमा तीव्र परिवर्तन आवश्यक रहेको बताउनुभयो । अहिले देखिएको परिवर्तनलाई शर्तरहित सहयोग आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । उद्योग र राजनीतिबीच तुलना गर्दै उहाँले उद्योगीले बजारका उपभोक्ताको चाहना र मागअनुसार वस्तु तथा सेवा उत्पादन गर्न नसके बजारमा टिक्न नसक्ने बताउनुभयो । त्यसै गरी राजनीतिमा पनि जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने नेतृत्व दीर्घकालीन रूपमा टिक्न नसक्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले सूचना तथा प्रविधिको पहुँचका कारण विश्व सानो बन्दै गएको र यसले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालमै बसेर नेपालको आर्थिक विकास गर्ने लक्ष्यका साथ अघि बढ्न युवालाई सुझाव दिनुभयो ।

    प्रतिनिधि सभा सदस्य सुलभ खरेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल उद्योग परिसंघका बोर्ड सदस्य प्राची अग्रवाल, सीएनआईवाईईएफका केन्द्रीय अध्यक्ष सुगम घिमिरे, सीएनआई लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले प्रविधि, युवा र पर्यटनलाई आर्थिक विकासको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष राजन कसजुले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा त्यसबाट युवा उद्यमी र समुदायमा परेको प्रभावबारे जानकारी गराए । निर्देशक अभिनव थापाले युवालाई संगठित गर्ने, नयाँ प्रविधि सिक्ने, उद्योग भ्रमणमार्फत अनुभव हासिल गर्ने तथा नीतिगत विषयमा छलफल गर्ने कार्यलाई मञ्चले प्राथमिकता दिएको बताए । उनका अनुसार ‘कफी टेबल’ छलफलदेखि नीति निर्माणसम्मका विषयमा युवालाई सहभागी गराउने काम भइरहेको छ ।

    वार्षिक साधारणसभाबाट मञ्चको नयाँ बोर्डसमेत चयन गरिएको छ । अध्यक्षमा विकास पाण्डे चयन हुनुभएको छ । बोर्डमा आईपीपीका रूपमा राजन कसजु, लर्निङ चेयरमा विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयरमा अभिनव थापा, फाइनान्स चेयरमा अभिषेक पाठक र मेम्बरसिप चेयरमा अनिश पाठक चयन हुनुभएको छ ।

    bikash.jpg

    त्यसै गरी नेटवर्क एन्ड कम्युनिकेशन चेयरमा अर्जुन पाठक, स्टार्टअप चेयरमा अनमोल मित्तल तथा एक्जिक्युटिभ डाइरेक्टरमा रुस्तम कंडेल रहनुभएको छ । फाइनान्स को–चेयरमा आशिष घिमिरे र मेम्बरसिप को–चेयरमा अमृत भुसाल चयन हुनुभएको छ ।

    नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा ‘सीएनआई इग्नाइट’लाई सिग्नेचर प्रोजेक्टका रूपमा सञ्चालन गर्ने बताउनुभयो । वार्षिक योजनाअनुसार युवा उद्यमीको क्षमता विकाससँगै समुदाय केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।