बिहिवार , कार्तिक १९, २०८३
भैरहवा, १९ कार्तिक । विगत १९ वर्षदेखि रुपन्देहीको भैरहवामा साउण्ड र म्यूजिकसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको युनिक साउण्डले यस वर्ष पनि दीपावली फेस्टिबल गर्दैछ । यो वर्षको कार्यक्रम यही कार्तिक २२ गते मिलनचोकमा साँझ ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको युनिक साउण्ड, भैरहवाका सञ्चालक रहिश खानले बताउनुभयो ।
बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक खाले हिन्दूहरुको महान पर्व तिहार (लक्ष्मी पूजा)को अवसरमा आपसी सद्भाव, नगरबासीलाई उल्लासमय र आर्थिक चलायमान गराउँदै तिहारको अनुभुति गराउन संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्न यो कार्यक्रम गर्दै आएको बताउनुभयो । एकल लगानीमा १० औं पटक फेस्टिबल सफलतापूर्वक सम्पन्न गरी ११ औं पटक यो कार्यक्रम आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिइ सडकको एक साइडमा स्टेज रहने गरी सडक पनि सजावट गरी झिलिमिली गरिएको खानले जानकारी दिनुभयो । ‘उक्त कार्यक्रममा नृत्य, गायन लगायतका साँस्कृतिक कार्यक्रम गरिनेछ । यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसरको रुपमा पनि लिनु रहेको छ । विगतमा जस्तै यस वर्ष पनि चर्चित राष्ट्रिय कलाकार आउनुहुनेछ । सरप्राइजको रुपमा रहनुभएका कलाकार विगत जस्तै हामीले सिधै मञ्चबाट सार्वजनिक गर्नेछौं, ’उहाँले भन्नुभयो ।
महोत्सवबाट स्थानीयले मनोरञ्जन पाउनुका साथै केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने आशाले ५० हजार दर्शक आउने अपेक्षा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम अवलोकन गर्न भैरहवा मात्र नभइ छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गरेका छन् ।
युनिक साउण्डको लगानी भए पनि कार्यक्रमको सहजीकरण चेम्बर अफ कमर्श, रुपन्देहीले गरेको सञ्चालक खानले बताउनुभयो । प्राय तिहार जस्तो पर्वमा पनि भैरहवा सुनसान हुने देखिएपछि यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ । करिब १५ लाख बढीको लगानीमा भैरहवाको प्रवद्र्धन गर्ने कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । ‘यो कार्यक्रमबाट सिद्धार्थनगरलाई पर्यटकीय क्षेत्रको परिचय दिनका लागि सफा, हराभरा, सौन्दर्यीकरण गर्दै विकसित शहरको रुपमा सन्देश दिनु पनि कार्यक्रमको उद्देश्य रहेको छ, ’खानले भन्नुभयो । कार्यक्रममा सहभागी हुने उहाँले सबैमा आग्रह गर्नुभएको छ ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भैरहवा क्षेत्रलाई चिनाउन र आर्थिक चलायमान बनाउन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो । उहाँले ‘युनिक दीपावली फेस्टिबल’ लाई सफल बनाउन आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।
संस्थाको महासचिव लक्ष्मी अधिकारीले चाडपर्वको मौलिकता बचाइराख्न यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
