बिहिवार , कार्तिक १९, २०८३
भैरहवा, १९ कार्तिक । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले पार्टीको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न तहमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । तिहार (दीपावली), छठपर्व तथा नेपाल संवत्को अवसर पारेर मंगलबार भैरहवामा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडा, नगर, प्रदेश, क्षेत्रीय तथा केन्द्रीय तहमा निर्विरोध र बहुमतसहित निर्वाचित नेता–कार्यकर्तालाई सम्मान गरिएको हो ।
क्षेत्रीय सभापति अधिवक्ता पुरन प्रसाद श्रेष्ठको सभापतित्व तथा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय तहसम्म निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि खाणले पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित नेता तथा कार्यकर्तालाई बधाई दिँदै सबैलाई समेटेर संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित सबै तहका नेता तथा कार्यकर्तालाई बधाई दिँदै एकता, सहकार्य र जिम्मेवारीबोधका साथ संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो ।
काँग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले पार्टी संगठनलाई जनतासँग जोड्न तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवं क्षेत्रीय सभापति श्रेष्ठले निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई थप संगठित, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउन नेता–कार्यकर्ताबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सभापति उमाकान्त चापागाईंको स्वागत तथा क्षेत्रीय सचिव प्रेम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
