बिहिवार , कार्तिक १९, २०८३
भैरहवा, १९ कार्तिक । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि. द्वारा सञ्चालित क्रिमसन अस्पताल र रोटरी क्लब अफ मणिग्रामको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको प्राविधिक सहयोगमा क्रिमसन अस्पताल मणिग्राममा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हाल देशव्यापी रगतको अभावलाई मध्यनजर गर्दै ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा ५० जनाले रक्तदान गर्नुभएको थियो । हाल रगतको माग अत्याधिक बढेको तर, चाडपर्वका कारण रक्तदान कार्यक्रम नभएका कारण मागअनुसारको रगत उपलब्ध गराउन कठीन भएको ब्लड बैंक बुटवलको इञ्चार्ज राधा ज्ञवालीले जानकारी दिनुभयो । रगतको अभाव भएको अवस्थामा रक्तदान कार्यक्रम गरेर सहयोग पुगेको भन्दै अस्पताललाई धन्यवाद दिदै रेडक्रस सोसाइटी, रुपन्देही अध्यक्ष राम चन्द उपाध्यायले प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यंक्रममा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, अस्पताल सञ्चालक तथा रोटरी क्लबका पूर्वअध्यक्ष कृष्ण प्रसाद नेपाल, अस्पताल निर्देशक डा.शेखर प्रसाद पोखरेल, रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष राम चन्द्र उपाध्याय, ब्लड बैंक बुटवलको इञ्चार्ज राधा ज्ञवाली, रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष कृष्ण भण्डारी, पूर्वअध्यक्ष निर्मल बस्याल, दुर्गा प्रसाद अर्याल, अस्पतालका नर्सिङ विभाग इञ्चार्ज सरिता अर्याललगायतको सहभागीता थियो ।
रक्तदान कार्यक्रममा सहभागी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, समाजसेवी तथा अन्य सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
