२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छ : राजेन्द्र लिङदेन

बुधवार , कार्तिक १८, २०८३

  • 79
    Shares
  • 79
    Shares
  • काठमाडौं, १८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिनुभएको छ । 

    बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिनुभएको हो ।

    उहाँले कार्यकर्तालाई आतङ्कित बनाएर पार्टीको नेतृत्व लिन्छु र पार्टी चलाउँछु भन्ने कसैले सपना नदेखे हुने बताउनु भयो । यस्तो सोचलाई उहाँले मूर्खतापूर्ण भन्दै अहिलेका राप्रपाका कार्यकर्ता त्यस्ता भ्रमको शिकार नहुने दाबी गर्नुभयो । लिङदेनले समयसँगै सूचना प्रविधिमा भएको विकासले पार्टीका कार्यकर्तालाई पनि सचेत बनाएको उल्लेख गर्नुभयो ।

    अहिले कुनैपनि गतिविधि लुकाउन सम्भव नरहेको भन्दै उहाँले सूचना प्रविधिको पहुँचका कारण गोप्य राख्न खोजिएका गतिविधिसमेत बाहिर आउने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘पार्टी समाप्त हुँदैछ भन्ने त्रास फैलाएर कार्यकर्ताको मनोबल गिराउँदै नेतृत्वमा पुग्ने सपना कसैले देख्नु हुँदैन । अहिलेका कार्यकर्ता सचेत छन् र सूचना प्रविधिको विकासले सबैलाई हरेक गतिविधिबारे जानकार बनाएको छ । त्यसैले भ्रम र डरको राजनीति अब चल्दैन । नेतृत्वका आकाङ्क्क्षीहरूले एकअर्कालाई कमजोर बनाउने होइन, आफ्नो क्षमता र सङ्गठन निर्माणमार्फत प्रतिस्पर्धा गर्नुपर्छ । आफ्नो क्षेत्रमा सङ्गठन विस्तार गरेर नेतृत्व क्षमता प्रमाणित गर्नु नै स्वस्थ प्रतिष्पर्धाको आधार हो ।’

    अध्यक्ष लिङ्देनले पार्टीभित्र त्रास र भ्रम फैलाउनेभन्दा संगठन निर्माणमा प्रतिष्पर्धा गर्न चुनौती दिनुभयो । आफ्नो क्षेत्रमा संगठन विस्तार गरेर देखाउनुपर्ने भन्दै उहाँले पार्टीभित्रको प्रतिष्पर्धा संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।