२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

विद्यालयको चिसो भुइँमा बितेको सुस्ताबासीको त्यो रात

शुक्रवार , भाद्र १२, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • पश्चिम नवलपरासी, १२ भदौ । नारायणी नदीमा पानीको बहाव बस्तीतिर सोझिएपछि पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाका लागि बुधबारको रात सम्झिन पनि मन नलाग्ने गरी भारी बनेर आयो । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि सुस्तापारीका हरेक घरमा त्रासको छाया पारेको थियो । ज्यान जोगाउनु नै पहिलो प्राथमिकता बनेपछि सुस्ताबासी आफ्ना घर, खेतबारी र पशुचौपाया त्यही छाडेर सुस्तावारी सुरक्षित आश्रयको खोजीमा निस्किए ।

    सुस्तावारी आइपुगेका विस्थापितहरूका लागि बी.पी. माध्यमिक विद्यालय र छरछिमेक तथा आफन्तका घरहरू ओत लाग्ने थलो बने । तर, टाउको लुकाउने ठाउँ पाए पनि सुस्ताबासीका आँखामा रातभर निद्रा परेन । विद्यालयका चिसो भुइँमा बिछ्याइएका त्रिपाल र म्याटमा पल्टिएका उनीहरूका मन भने नारायणीको बाढी र  छाडेर आएको बस्तीमै घुमिरहे ।

    ‘रातभरी कसैको आँखा जुधेनन्, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्हाल्दै जागारामै रात बित्यो । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भन्नुभयो–‘ज्यान त जोगियो । तर, पिर र चिन्ताले कसैलाई सुत्न दिएन ।’

    785288033_27263636146644774_5079626098443145811_n.jpg

    बाढीको विपत्तिमा परेका नागरिकका लागि स्थानीय तहले पनि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रयास गर्यो । रातभर विस्थापित नागरिकको खानपिन र बसाइको व्यवस्थापनमा सुस्ता गाउँपालिका खटिएको थियो ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विपत्तिको खबर पाउनासाथ पालिकाले तुरुन्तै उद्धार र राहत सामग्रीको बन्दोबस्त गरेको थियो । ‘गाउँपालिकाकोतर्फबाट विद्यालयमा आश्रय लिएर बसेका सम्पूर्ण बाढीपीडित नागरिकहरूलाई  खाना, स्वच्छ खानेपानी र बसाइको व्यवस्थापन गरिएको थियो । अध्यक्ष उपाध्यायले भन्नुभयो-‘अप्ठ्यारो परिस्थितिमा कुनै पनि नागरिकले भोकै र असुरक्षित बस्न नपरोस् भनेर पालिकाको टोली रातभर खटिएको थियो ।’

    आफन्तको घरमा शरण लिन पुगेकाहरूका लागि पनि त्यो रात सहज थिएन । आफ्नै घर छाडेर अरूको ओत लाग्नुको पीडा र अनिश्चित भविष्यको चिन्ताले हरेक विस्थापितलाई सताइरह्यो ।

    वर्षेनी दोहोरिने नारायणीको कटान र डुबान सुस्ताबासीका लागि नयाँ भने होइन । तर, हरेक वर्षात्मा आउने बाढीले उनीहरूको जीवनमा छाड्ने त्रासको छाप भने उस्तै गहिरो हुन्छ । बिहीबार नारायणीमा पानीको सतह घट्दै गएपछि सुस्तावासी राहतको सास फेर्दै पुनः झोलुङ्गे पुल हुँदै आफ्ना आधा छुटेका सपना र घर–आँगन सम्हाल्न सुस्तापारीतर्फ फर्कन थालेका छन् ।