२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

सिद्धार्थनगर नगरपालिकाले बाढीपीडितको राहतका लागि ३५ लाख उपलब्ध गराउने

बिहिवार , भाद्र ११, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, ११ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताउनुभयो ।

    नगरपालिकाबाट २५ लाख, नगरप्रमुख खाँबाट, उपप्रमुख उमा अधिकारीबाट १ महिना बराबरको सेवा सुविधा, वडाअध्यक्षहरुबाट पाँच दिन बराबरको सेवासुविधा, कार्यपालिका सदस्यहरुबाट ३ दिन र वडा सदस्यहरुबाट २ दिन बराबरको सेवा सुविधावापतको रकम कोषमा जम्मा गरिनेछ । 

    त्यस्तै अधिकृतस्तरका कर्मचारीहरुबाट ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारीहरुबाट ५ र श्रेणीबिहीन कर्मचारीबाट २ दिन बराबरको तलब जम्मा गरिने नगरपालिकाले जनाएको छ । यी सबै रकम गरेर ३५ लाख बराबरको सहयोग जम्मा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो ।

    विपत्तिको यस घडीमा नगरपालिका तथा वडा कार्यालयबाट हुने विभिन्न कार्यक्रम कटौती गर्दै उद्धार तथा राहतमा ऐक्वद्धता जनाउन नगरपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरुबाट आयोजना गरिने हरितालिका तीज लगायतका कार्यक्रमहरु रद्द गरी ती कार्यक्रमका लागि विनियोजित सम्पूर्ण रकम प्रधानमन्त्री प्रकोप दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख खाँले बताउनुभयो । ‘नगरबासीहरुले यस वर्षको हरितालिका तीजको कार्यक्रम नगरी विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्नहुन हार्दिक अपील गर्दछौं, ’उहाँले भन्नुभयो । 

    बाढीप्रभावित क्षेत्रमा परी सम्पर्कबिहीन हुनुभएका नगरबासीको घरपरिवारले नगरपालिकामा सम्पर्क गर्नुहुन उहाँले अनुरोध गर्नुभयो ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण पुगेको अपूरणीय क्षति, जनधनको हानी र सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सिद्धार्थनगर नगरपालिका अत्यन्तै मर्माहित र दुःखी भएको नगरप्रमुख खाँले बताउनुभयो । ‘बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा नगरपालिका परिवारकातर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै बाढीमा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, ’नगरप्रमुख खाँद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।