२०८३, मंसिर ९ गते

Nov 25 2026 | २०८३, मंसिर ९ गते

पाल्पा, तिनाउको पाटनमा काव्ययात्रा : सम्झिंदा पनि रमाइलो

बुधवार , मंसिर ९, २०८३

  • 19
    Shares
  • 19
    Shares
  • काव्ययात्रा भाग दुईको योजना बुटवलको हिमालय बुक हाउसमा बनेको थियो । कार्तिक महिनाको अन्तिम बिहीवार माधव गौतम, कृष्ण पााण्डेय र म मिलेर यात्राको उचित मिति, समय र स्थान तोकेका थियौं । पहिलो काव्ययात्रा करिब दुई वर्षअघि पाल्पा, तिनाउको मस्यामदेखि पाल्पाकै नुवाकोटसम्मको नून–तेल मार्गमा सम्पन्न गरेका थियौं । यसपालिको काव्ययात्रामा साहित्यकार, पत्रकार र कलाकार गरी १४ जना थियौं ।

    कार्तिक महिनाको अन्तिम शनिबार, बिहान सात बजे, बुटवलको मिलनचोकबाट पाल्पा, तिनाउको पाटन गाउँ जाने निधो भएपछि आवश्यक तयारीका लागि माधव गौतमलाई टेण्डर परेको थियो । उनले १५ जनाको नामलिष्ट तयार गरेपनि जानेबेला पत्रकार कृष्ण मल्ल गयल भए । उनको स्थानमा मूर्तिकार हरि वयम्बूलाई हाजिर गराइयो । यात्रामा सात बजे निस्किने भनेपनि साथीका मिनेट सूईले हिंड्नेबेला ५४ मिनेट लेट हान्दियो । बुटवलमा साथीहरु बुटलिनै ढिला भयो । समयको पालना नगर्ने हाम्रा साथीहरुलाई देखेर दिक्क लागेपनि भ्रमणको पथप्रदर्शक भएको नाताले नजाती मान्नै भएन ।

    मुस्ताङ्गे जीपमा मरेक पुग्दा: 
    बुटवल छाडेपछि चिडियाखोला, सिद्धबाबा मन्दिर, दोभान कटेपछि झुम्साको सडकविभाग क्याम्पदेखि पश्चिम–उत्तरतिर जीप मोडियो । जीपले लौग्धुवा गाउँको चौपारीमा पुगेर विश्राम लियो । फराकिलो फाँटमा पुगेर साथीहरुले फोटो खिच्ने छाँट निकाले । कोही बसेर, कोही उभिएर फाँटलाई इन्सेटमा राखेर फोटो खिचियो । अनि जीपभित्र रहेका साथीहरु जीपको आँटीमा चढेर, परालमा बसेर विदेशी पर्यटकजस्तै हावा खाँदै सरररररर जीपमा गुडे । जब हामी चढेको मुस्ताङ्गे जीप मरेक गाउँमा रोकियो साथीहरु चाँहि कुटेभट्टीमा पसेर पाडाको सुकुटी र कुुखुराको मासु चरप्पै पारे । इच्छुक केही साथीहरुले अग्निरस सेवन पनि गरे । यात्रामा रमाईलाका लागि सेवन गरिने यस्ता पदार्थले खासै महत्व लिदैन ।

    मरेक गाउँ, पुराना नूनतेल मार्गको महत्वपूर्ण मुकाम हो । यहाँ २०१४ सालमा स्थापना भएको सरस्वती प्रावि छ । यही मार्ग हुँदै दक्षिणतिर रानीबास, सालबास, बोटेगाउँ, दोभान पुगिन्छ र दोभानको पुल तरेर नुवाकोट हुँदै बुटवल पुगिन्थ्यो । सोही मरेक गाउँबाट उत्तरतिर लागेमा सिस्नेखोला हुँदै मस्याम हटिया पुगिन्थ्यो । सिस्नेखोला नजिकै उतिबेला सिस्नुका घारी थिए रे । उक्त खोलामा असला माछा विपत्तै पाइन्थ्यो रे । मानिसहरु थुवाली थुनेर माछा मार्थे रे । साथीहरुलाई मरेकका बारेमा थोरबहुत कुराको निःशुल्क जानकारी दिएँ ।

    जाम हिंड पाटन: पाटनमा पिरति साटन 
    जीप अघि बढ्यो । सिस्नेखोला पार गर्दै अर्खलेगाउँ हुँदै हामी सुडुङ्ग पार गरेर एक हजार पाँच सय १२ मीटर उचाइँमा रहेको पाटन गाउँ पुग्यौं । गाउँमा १० वर्षअघिसम्म कुवाबाट पानी खानुपथ्र्यो । सोलार बाल्थे गाउँलेहरुले । चर्पी थिएन । स्वास्थ्य केन्द्र थिएन । पाँच कक्षासम्म पढाइ हुने पाटन प्रावि थियो । गाउँमा श्रमदान गरेर, पैसा उठाएर खनिएको बाटो थियो । अचेल, यसमा धेरै सुधार भएका रहेछन् ।

    २०६६ सालतिर साविक दोभान स्रोतकेन्द्र अन्तर्गतका प्रअहरुको अवलोकन यात्रामा पाटन पुगेका थियौं । त्यतिबेला तिलोत्तमा माविका तत्कालीन पूर्वप्रअ भोजबहादुर रायमाझी सरले भनेका थिए–पाटन गाउँ त दोभानकै सगरमाथा रहेछ । सोही मौकामा चिरिप्प पारेर गायक तथा शिक्षक हुकुमबहादुर जीसीले एउटा मन छुने गीत गाएका थिए–जाम हिन पाटन, पाटनमा पिरति साटन ।

    डम्म कुहिरो थियो हामी पाटन पुग्दा । न उत्तरतिरका हिमाले हाँसे हामीलाई देखेर । न बुटवल, भैरहवालाई औंलाले देखाउन पाइयो । साथीहरुलाई जनतन, पाटन तलतिर रहेको अजङ्गको भकारलुङ्ग (मगर भाषामा यसको अर्थ ः भकारीजत्रो ढुंगा लाग्दोरहेछ । ) देखाउने अवसर मिल्यो । पाटनको शीर अनि भीरमा उभिएर रमेश पाण्डेयले घडीमा जीपीएस लगाएर हेर्दा त्यहाँको उचाइँ १ हजार ५ सय ४७ मीटर देखायो । बाबियो समाउँदै साथीहरु ओरालिएको दृश्य हेर्न लायक देखिन्थ्यो ।

    तोरी र फापरका फूलहरुले हामीलाई स्वागत गरिरहेका थिए । त्यसैमा हामीले मन बुझाइयो । मौरीजस्ता मिहिनेती किसानहरुका रहरलाई बारीका पाटाहरुमा हेरेर मन सन्तोष गरियो । गाउँका अगुवा तथा शिक्षाप्रेमी हस्तवीर अर्घलीको मृत्युले दुःखी बनायो । उनको घरमा घोत मिसाइयो । उनकी श्रीमती विष्णुमाया अर्घलीसँग हस्तवीरको मृत्युबारेमा हल्का सोध्ने अवसर मिल्यो । गाउँको विकासमा उनको महत्वपूर्ण योगदान थियो । शिक्षामा उनले खेलेको भूमिका अविस्मरणीय छ ।

    चिउरीको रस चिरिप्पै: मासुमा कर्णाली 
    पदमबहादुर सोमै मगरको गाउँले सोल्टी होटलमा विहानको भोजन पौने १२ बजे खान सुरु गरियो । भातलाई लोकल कुखुराको झोलले चुर्लुम्मै डुबाईयो । अघिल्लो साँझ पदमलाई मैले भनेको थिएँ–लोकल कुखुराको झोल खाने हो । मासुमा कर्णाली बगाउनू । नभन्दै सोही अनुसार थियो । दाल पकाउन परेन । झुसे करेला र आलुुको तरकारी, मूलाको अचारसँग टन्नै खाना खाइयो । पेटमा ल्वाँङ् राख्ने स्थान समेत खाली नराखी खाना खाँदाको मज्जा भनीसाध्य छैन । जनही चार सौ रुप्पे नगद बुझाइयो ।

    नाम उल्लेख नगर्ने शर्तमा केही साथीहरुले चिउरीको रस चिरिप्पै पारे । खानासँगै गफैगफमा दुई, चार माना रसले साथीहरुका मुख, अन्ननली हुँदै अमाशयमा आक्रमण गर्न थालेपछि कुरोको चुरो सुन्न लायक भएको पाइयो । मैले साथीहरुलाई भनेको थिएँ–चिउरीको रस, भित्र खाँदा बाहिर बसाउँछ । पक्का हो रहेछ । खानापछि एकछिन टहलियौं । अनि सुरु गरियो काव्ययात्राको दोस्रो भाग । अर्थात् कविता वाचन । गिरि श्रीस मगरले तीनवटा आफ्ना गतिला कविता सुनाए । शंकर भण्डारीले आफ्ना दुईवटा दमदार कविता वाचन गरेपछि वाहवाही प्राप्त गरे । मैले पनि दुईवटा कविता, स्रोताहरुलाई पाहुर दिएँ । हाम्रा कविताले पाटनको जाडोलाई हायलकायल बनायो ।

    देवकुमारी दिदीले मलाई झुसेकरेला पाहुर दिइन् । मैले पनि गणित उपहार दिएँ । हाम्रा साथीहरु केहीबेर क्यारेमबोर्ड खेलेर मज्जा माने । गाउँमा झुसेकरेला, काँक्रा, अदुवा, मटर, चुत्रा, चिउरी, टिम्बूर, अमिलो, भब्बु निकै फल्ने गर्छन् ।

    लुलीभट्टीमा चियासँगै पाउरोटी: साथीहरुले थपेछन् चुत्राको जुश 
    रिब्दिकोट गाउँपालिकाको सानो तर चिटिक्क परेको बजार लुलीभट्टीमा पुगेर मैले चिनी नराखेको चियामा पाउरोटी डोबेर खाँदा विगतको याद आयो । पैसा नभएर चियामा पाउरोटी डोब्न नपाउँदाको पीडा कम्तिको थिएन मेरो । यही कुरा मैले कतिपटक मेरा साथीहरुलाई सुनाउँदा खिसी गरेर उडाएका छन् मलाई ।

    केही साथीहरुले चिउरीको रसमा चुत्राको जुश मिसाएपछि कुरा पनि गरामागरम भयो । झन्न साथीहरुले कविता सुनाम भनेनन् । नत्र हामीलाई मस्यामहुँदै बुटवल फर्किन ढिला हुने थियो । बेनु, हरि, पाण्डेय, सुरेशहरुले जीपको आँटी छाडेनन् । उनीहरुले पाल्पाका सुन्दर स्थलका दृश्यावलोकन गरे । भिडियो खिचे । उनीहरुले किन्न नसक्ने मज्जा लिए ।

    गाउँतिर कोदो, चुत्रा, चिउरी, खुदी, पाखनवेदका रक्सीहरु (जुस, रस) प्रशस्तै भेटिन्छन् । खाँदा स्वादिला तर, झ्याप्पै लाग्ने भएकाले हाम्रा साथीहरुले कति सेवन गर्दा लाग्छ, भेउ पाउने कुरै भएन । उनीहरुले यस्तै यात्रा, भ्रमणमा न हो हल्का चार्ज गर्ने । विचराहरुलाई यस्ता जुस, रस बजारमा खाने अवसर कहाँ मिल्छ र ? झन्न हिमालय बुक हाउस, बुटवलका सञ्चालक माधव गौतम जिउँदा रहेछन् र यस्तो सुनौलो अवसरको व्यवस्थापन गरे । उनलाई लाख सलाम दिंदा पनि पुग्दैन ।

    जीटीपिएस प्रणाली लागू : सबैले गणित माधवलाई बुझाए 
    मस्यामको हटियामा केहीवेर बसेर हामी माथिल्लो जोरधारामा रहेको प्रमिलाको बटुक पसलमा बटुक, चुकौनी, चिया, पकौडी खान ओर्लियौं । प्रमिलाले हाम्रो टोलीलाई हतारहतारमा करिब १ हजार २ सय रुप्पेको अर्नि खुवाइन् । हामीले यात्रामा लागेका खर्चलाई बराबर बिलो लगाएर पैसा उठायौं । भात, खाजा, खाना र जीपलाई गरेर करिब १ हजार ३ सय ५० रुपैयाँ जनही उठाइयो । खचाञ्जी बनेका थिए माधव नै । जीटीपिएस (गोइङ्ग टुगेदर पे सेप्रेट) प्रणाली लागू गरेपछि सबैलाई सजिलो हुने माधवले सुनाए । यसो गर्दा कसैलाई भार र कसैलाई हलुका नहुने रहेछ । यो कुरा सुनाइरहँदा मज्जा आइरहेको छ । बुटवल भरियो साँझ पाँच बजे । हरि र बेनुको पेट बटारेछ । झर्न नपाउँदै बटौलीको नालामा हरिले पाटनको भात ह्वाल्लै खनाए ।