बुधवार , मंसिर ९, २०८३
परासी, ९ मंसिर । आगामी स्थानीय तह निर्वाचनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गर्दै नेपाली काँग्रेसका एक सक्रिय क्रियाशील सदस्यले पार्टीसँग अवसर र विश्वासको अपेक्षा गर्नुभएको छ ।
काँग्रेसमा एक दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा आबद्ध रहनुभएका आशिष पाठकले पार्टीले अवसर र जिम्मेवारी प्रदान गरेमा आगामी स्थानीय निर्वाचनमा रामग्राम नगरपालिकाको मेयरमा उम्मेदवारी दिने आफ्नो इच्छा सार्वजनिक गर्नुभएको छ ।
शैक्षिक तथा प्राविधिक क्षेत्रमा उच्च योग्यता हासिल गर्नुभएका उहाँले सिभिल इन्जिनियरिङमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट पूर्ण छात्रवृत्तिमा कन्स्ट्रक्सन इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ठूला पूर्वाधार र पुनर्निर्माण आयोजनामा काम गरेको १० वर्षभन्दा बढीको व्यवसायिक अनुभवसमेत उहाँसँग छ ।
आफ्नो शैक्षिक ज्ञान, प्राविधिक दक्षता र व्यवसायिक अनुभवलाई आफ्नै क्षेत्र रामग्रामको विकासमा समर्पित गर्ने उद्देश्यसहित नगरप्रमुख पदमा नेतृत्व गर्ने आकांक्षा राखेको उहाँको भनाइ छ । उहाँले रामग्रामको विकासलाई परम्परागत कार्यशैलीबाट माथि उठाउँदै आधुनिक सोच, प्राविधिक ज्ञान, दीर्घकालीन योजना र पारदर्शी कार्यसम्पादनका आधारमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
उहाँको विकास योजनामा व्यवस्थित शहरीकरण र दीर्घकालीन नगर गुरुयोजना निर्माण, गुणस्तरीय सडक तथा ढल निकास, दिगो पूर्वाधार विकास, रामग्राम स्तूपलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यसै गरी युवाका लागि रोजगारी र सीप विकास, उद्यमशीलता प्रवद्र्धन, आधुनिक कृषि प्रणाली, सिँचाई सुविधा, कृषकका उत्पादनको उचित बजार व्यवस्थापन, गुणस्तरीय सामूदायिक शिक्षा, सहज स्वास्थ्य सेवा तथा स्वच्छ र हरित नगरपालिका निर्माणलाई समेत उहाँले प्रमुख एजेण्डाका रूपमा अघि सार्नुभएको छ ।
नगरपालिकाको विकास बजेट, ठेक्का प्रक्रिया र विकास आयोजनामा पारदर्शिता तथा जवाफदेहिता कायम गर्दै प्रत्येक वडा र समुदायको आवश्यकताअनुसार सन्तुलित विकास गर्नुपर्ने उहाँको धारणा छ । उहाँले उपलब्ध स्रोतसाधन र बजेटको प्रभावकारी उपयोग, संघीय तथा प्रदेश सरकारसँग समन्वय र विकास साझेदारसँग सहकार्य गरी योजनाबद्ध रूपमा नगरको विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
‘विकासको मूल्यांकन भाषण, शिलान्यास र उद्घाटनबाट होइन, नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्छ । सबै कुरा एकैपटक परिवर्तन गर्छु भन्ने खोक्रो आश्वासन होइन, सही योजना, इमानदार प्रयास र जिम्मेवार कार्यान्वयनमार्फत रामग्राममा सकारात्मक परिवर्तन ल्याउनु मेरो सोच हो,’ उहाँले आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ ।
रामग्रामसँग धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले ती सम्भावनालाई व्यवहारमा उतार्न सक्षम, दूरदर्शी र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेसको संगठनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले पार्टीले आफ्नो अनुभव, योग्यता र क्षमताको मूल्यांकन गरी आगामी स्थानीय निर्वाचनमा नगरप्रमुख पदका लागि अवसर र विश्वास प्रदान गर्ने अपेक्षा गर्नुभएको छ ।
घोषणाभन्दा कार्यान्वयन, आश्वासनभन्दा परिणाम र राजनीतिक स्वार्थभन्दा जनताको हितलाई प्राथमिकता दिने प्रतिबद्धतासहित उहाँले रामग्रामको समृद्धि र रूपान्तरणका लागि आफ्नो नेतृत्वदायी भूमिका अघि बढाउने आकांक्षा व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij