२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

गौतमबुद्ध विमानस्थल सञ्चालन र उडान विस्तारमा नयाँ सम्भावना खुल्यो : सांसद पौड्याल

सोमवार , मंसिर ७, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • भैरहवा, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा रुपन्देहीको भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारत सहमत भएको छ । भारतले हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनउ (बी३४५) हवाई रुटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो ।

    भारतको यो सहमतिसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा उडान विस्तारको सम्भावना बढेको छ ।

    प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले यसलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रका लागि खुशीको खबर भन्दै प्रधानमन्त्री शाहप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन र आवश्यक हवाई रुटको व्यवस्था गर्न आफूले पटकपटक सदन, संसदीय समिति तथा प्रधानमन्त्री, सभामुख र पार्टी सभापतिसमक्ष विभिन्न तहमा आवाज उठाउँदै आएको बताउनुभयो ।

    भैरहवा र लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, रोजगारी तथा समग्र आर्थिक विकाससँग जोडिएको यो विषय अब परिणाममुखी बन्नुपर्ने उहाँको भनाइ छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुपर्ने र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रका नागरिकको लामो समयदेखिको आशा साकार हुने विश्वास व्यक्त गर्नुभयो ।