सोमवार , मंसिर ७, २०८३
भैरहवा, ७ मंसिर । छाडा चौपाया व्यवस्थापनसँगै धार्मिक पर्यटनलाई समेत जोड्ने सम्भावना बोकेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको गौशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित पिपरहियामा निर्माणाधीन गौशाला सञ्चालनमा आएपछि चौपाया व्यवस्थापनसँगै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्ने अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ ।
करिब ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको उक्त गौशाला नगरपालिकाको छाडा चौपाया व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजनाअन्तर्गत अघि बढाइएको नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो । गौ संरक्षण, व्यवस्थापन तथा सडकमा छाडिएका चौपायाका कारण हुने दुर्घटना र ट्राफिक अवरोध न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको संरचना अहिले अन्तिम चरणमा पुगेको छ ।
गौशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके धार्मिक आस्था, गौ संरक्षण र पर्यटकीय आकर्षणलाई एकै ठाउँमा जोड्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । हिन्दू धर्म तथा संस्कृतिमा गाईको विशेष धार्मिक महत्त्व रहेकाले गौशालालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको दावी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij