२०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

गुल्मीको बुढी सत्यवती मेला : स्मृतिको गोरेटोदेखि सभ्यताको नयाँ क्षितिजसम्म

आइतवार , मंसिर ६, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • - पासाङ सिंजाली, मन्टेश्वरी प्रशिक्षक (गुल्मी) बाट 

    गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेकमा रहेको सत्यवती क्षेत्र समुद्री सतहदेखि करिब २ हजार एक मिटर उचाइँमा रहेको पहाडी भू–भाग हो । यस क्षेत्रको आफ्नै भौगोलिक, प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक पहिचान छ । मगर र दलित समुदायको उल्लेख्य बसोबास रहेको यस भूगोलमा श्रम, संघर्ष, परम्परा र सामुदायिक जीवनका अनेकौं आयामहरू भेटिन्छन् । 

    समशीतोष्ण तथा शीतोष्ण हावापानी रहेको यस क्षेत्रमा ऋतु परिवर्तनसँगै प्रकृतिका फरकफरक रूप देख्न पाइन्छन् । फागुनदेखि भदौसम्म करिब १० देखि २८ डिग्री सेल्सियस र असोजदेखि माघसम्म ५ देखि २५ डिग्री सेल्सियससम्म तापक्रम रहन्छ ।  यहाँको पहाडी परिवेश, प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साँस्कृतिक विविधताले सत्यवतीलाई आफ्नै विशिष्ट पहिचान दिएको छ । तर, सत्यवती मेरो स्मृतिमा केवल एउटा धार्मिक स्थल वा पर्यटकीय गन्तव्यका रूपमा मात्र छैन । यो त मेरो बालापन, पारिवारिक सामूहिकता, पुर्खाहरूका पदचाप र समयसँगै फेरिँदै गएको हाम्रो सामाजिक जीवनको एउटा सुन्दर दस्तावेज समेत हो । 

    सत्यवती बज्यूसँग जोडिएको जनविश्वास अनुसार यहाँ चिच्याएर वर माग्दा मनोकामना पूरा हुन्छ । विशेष गरी सन्तान प्राप्ति, सुख, शान्ति, समृद्धि लागि भक्तजनहरू यहाँ पुगेर आफ्नो मनोकामना व्यक्त गर्ने गर्छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमामा यहाँ परम्परागत मेला लाग्ने गर्दछ । धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र प्रकृतिको अनुपम सौन्दर्य बोकेको यस स्थलले पर्यटकीय महत्वसमेत प्राप्त गरेको छ ।  नेपालका सय पर्यटकीय गन्तव्यमा सूचीकृत यस क्षेत्रको पहिचान धार्मिक विश्वासमामात्र सीमित छैन । 

    कतिपय ठाउँहरू केवल भूगोलमा सीमित हुँदैनन् । ती ठाउँसँग हाम्रो बालापन जोडिएको हुन्छ, पुर्खाहरूका पदचाप मिसिएका हुन्छन्, । परिवारको सामूहिकता गाँसिएको हुन्छ र जीवनका अविस्मरणीय अनुभूतिहरू सञ्चित भएका हुन्छन् । सत्यवती मेरो स्मृतिमा त्यस्तै एउटा ठाउँ हो । जहाँ पुग्दा म केवल एउटा धार्मिक स्थलमा पुगेको महसुसमात्र गर्दिनँ, बरु आफ्नै बालापन, आफ्ना पुर्खाहरू र समयले छोडेर गएका अनेकौँ दृश्यहरूसँग फेरि एकपटक भेटिरहेको अनुभूति गर्छु । 

    सत्यवतीको मेलाको सम्झना गर्दा सबैभन्दा पहिले मेरो मानसपटलमा एउटा दृश्य आउँछ, पुजारी बाजे, उहाँको गलामा झुण्डिएका रुद्राक्ष मालाहरू, तल धोती बेरेर माथिल्लो शरीर अनावृत राख्दै र शिरमा कपाल नभएको स्वरूप । उहाँको हातमा फूलहरू हुन्थे । मन्दिर अलि वर सानो पोखरी थियो धमिलो पानी माथि फूलहरू तैरिएका पोखरीमा भक्तजनहरू पुजारी बाजेको कान नजिक पुगेर आफ्ना मनोकामना विस्तारै खुसखुसाउँथे । कसैले सन्तान माग्थे, कसैले सुख, शान्ति र समृद्धि, त कसैले आफ्नो मनमा साँचेका अरू नै इच्छा ।  बाजे पोखरीको पानीमा हात डुबाएर फूलहरू टिप्नुहुन्थ्यो र भक्तजनले सुनाएका मनोकामनाअनुसार ठूलो स्वरमा सत्यवती बज्यूसँग आशीर्वाद मागि दिनुहुन्थ्यो । उहाँको चर्को आवाजमा विभिन्न मनोकामनाहरू गुञ्जिन्थे । फूल पानीमा भिजाएर भक्तजनलाई थमाइ दिनुहुन्थ्यो । 

    हामी साना केटाकेटी भने अलि पर उभिएर टुलुटुलु हेरिरहन्थ्यौं । कसले के माग्दै होला? कसको मनमा कस्तो इच्छा होला ? पुजारी बाजेले अब के भनेर चिच्याउनुहोला ? भन्ने कौतूहलले हामीलाई त्यहीं अल्झाइरहन्थ्यो । अरूका मनोकामना सुन्ने त्यो बालसुलभ उत्सुकता र दृश्य हेरेर रमाउने आनन्द पनि मेलाको आफ्नै छुट्टै आकर्षण थियो । आज सम्झँदा लाग्छ, त्यो केवल धार्मिक अनुष्ठान हेर्नुको रमाइलो थिएन बरु मानिसका आस्था, विश्वास र मनका अनगिन्ती आकाङ्क्षाहरूलाई नजिकबाट नियाल्ने एउटा बाल्यकालीन अनुभव पनि थियो । 

    अरूले के माग्थे, के मनोकामना राख्थे ः त्योभन्दा पनि हाम्रो आफ्नै सानो चाहना हुन्थ्यो –विद्या दिनुहोस् । 
    हामी फूल माग्थ्यौं । अनि पुजारी बाजेले ठूलो स्वरमा ‘सरस्वती, सत्यवती बज्यू, विद्या दिनुहोस् ।  भन्दै फूल दिनुहुन्थ्यो । त्यो क्षणमा उहाँको आवाज, पानीमा भिजेका फूल र हाम्रो बालसुलभ विश्वासबीच एउटा अनौठो सम्बन्ध स्थापित हुन्थ्यो । साँच्चै त्यो आशीर्वादले हाम्रो जीवनमा ज्ञानको उज्यालो थपिदिनेछ जस्तो लाग्थ्यो । त्यो एउटा बालमनले आशीर्वाद र विश्वासको अर्थ बुझ्न थालेको एउटा सुन्दर सुरुवात पनि थियो । 

    मन्दिरमा पूजा सकेपछि भने मेलाको अर्को संसार सुरु हुन्थ्यो । तलको चौरमा विभिन्न खेलहरू हुन्थे ।  गाउँगाउँबाट आएका ठूला समूहहरू आआफ्नै मौलिक पहिरनमा छमछमी नाचिरहेका हुन्थे ।  मादलका तालसँगै झ्याउँरे गीत, ठूलो नाच  गुञ्जिन्थे ।  दाजुभाइ तथा दिदीबहिनीहरू आफ्ना कला, संस्कृति र पहिचान प्रदर्शन गरिरहेका हुन्थे । कतै परेवा उडाइन्थे, कतै बाख्रा र परेवा बोकेर भक्तजनहरू मन्दिरतिर लागिरहेका हुन्थे । परिवारका परिवार, गाउँका गाउँ, आफ्नै मौलिक पहिचान बोकेर मेलामा उपस्थित हुन्थे । 

    त्यो बेलाका मेलाका सबै दृश्य सुन्दर मात्रै थिएनन्  

    पुर्खाहरूका अनुभव र अग्रजहरूबाट सुनेका कथाहरूमा सत्यवती मेलाको अर्को पाटो पनि छ ।  पहिले मानिसहरू राति नै मेलामा पुग्ने गर्थे रे । कतिपय टोलीहरू शक्ति प्रदर्शन गर्न, रुख उखेल्न, भाँच्न र आपसमा भिड्नकै लागि जाने गर्थे रे ।  झगडा र लडाइँ पनि मेलाको एउटा चर्चित प्रसङ्ग हुने रहेछ ।  पछि हामी सानै हुँदा पनि केही मानिसहरू माथिल्लो शरीरको लुगा खोलेर, उत्तेजित हुँदै हिँडेको र आपसमा भिडेको दृश्य देख्थ्यौं । त्यस्ता दृश्यले बालमनमा एउटा अनौठो डर पैदा गथ्र्यो । मनमा प्रश्न उठ्थ्यो—मानिसहरू किन यसरी लडिरहेका होलान् ? रमाइलो गर्न आएको मेलामा झगडा नगरे पनि त हुन्थ्यो नि ! वरिपरिका मानिसहरू भने कतिपय अवस्थामा त्यसलाई सामान्य घटनाझैँ हेरेर बसिरहेका हुन्थे । मेला, धार्मिक आस्था र सांस्कृतिक उत्सवसँगै जोडिएका यस्ता व्यवहारले त्यस समयको सामाजिक चेतनाको एउटा पाटो पनि देखाउँथे । 

    समय सधै एकै ठाउँमा अडिँदैन ।  मानिसको सोच बदलिन्छ, समाज बदलिन्छ र संस्कार तथा परम्परालाई हेर्ने दृष्टिकोण पनि विस्तारै परिष्कृत हुँदै जान्छ । सत्यवती मेला पनि त्यसैगरी परिवर्तनको यात्रामा अघि बढेको देखिन्छ । पहिलेका अनियन्त्रित गतिविधिहरू क्रमशः घट्दै गए ।  व्यवस्थापनले प्राथमिकता पाउन थाल्यो । धार्मिक आस्था र जनविश्वासलाई निरन्तरता दिँदै साँस्कृतिक कार्यक्रमहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने अभ्यास विकसित भयो ।  सत्यवती बज्यूका विषयमा रहेका जनश्रुति, किंवदन्ती र विश्वासहरूलाई लिखित रूपमा अभिलेखीकरण गर्ने तथा खोज अनुसन्धान गर्ने कामले पनि यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व बुझ्न थप आधार दिएको छ । सत्यवतीसँग जोडिएको मेरो सबैभन्दा प्रिय स्मृति ः न पुजारी बाजेको आवाज न मेलाको भीडभाड, न त साँस्कृतिक प्रदर्शन नै । 
    त्यो हो बिहान चार बजे उठेर परिवारसँगै सत्यवती जाने तयारी । भोलिपल्ट सत्यवती जाने कार्यक्रम छ भने अघिल्लो दिनदेखि नै घरमा छुट्टै उत्साह सुरु हुन्थ्यो ।  सखरखण्ड र तरुल उसिन्ने, सेलरोटी बनाउने, भुटेका भात तयार गर्ने र यात्राका लागि खानेकुरा पोको पार्ने । दिदी, दाइ, आमा, बाबासहित सबै जना बिहानै उठेर जाने तयारीमा जुट्थ्यौं ।  अँध्यारोमै बत्ती बालेर घरबाट निस्कँदा लाग्थ्यो, हामी केवल एउटा मेलामा होइन, एउटा विशेष उत्सवमा सहभागी हुन जाँदै छौं । सबैभन्दा सुन्दर कुरा त्यो सामूहिक यात्रा थियो ।  कोही अगाडि, कोही पछाडि, कोही बाटोमा भेटिने, कोही कुरेर बस्ने ।  गाउँका दिदीबहिनी, दाजुभाइ र परिवारहरू सँगसँगै हिँड्थे । त्यो यात्रामा कसैलाई एक्लोपनको महसुस हुँदैनथ्यो ।  बाटोको थकानभन्दा भेटघाटको उत्साह ठूलो हुन्थ्यो । 

    बुढी सत्यवती वा सानो सत्यवतीसम्म पुग्ने आआफ्नै गन्तव्य हुन्थे ।  मन्दिरमा पूजा गरेपछि वरिपरि घुम्ने, दृश्य हेर्ने र अन्ततः जंगलछेउको कुनै खुला चौरमा गएर बस्ने हाम्रो अर्को नियमित कार्यक्रम हुन्थ्यो । त्यहाँ एउटा ठूलो पछ्यौरी वा कपडा फिँजाइन्थ्यो ।  अनि घरबाट ल्याइएका खानेकुरा सजाइन्थे ।  कसैको कोदोको रोटी, कसैको सेलरोटी, कसैको भुटेका भात, कसैको उसिनेको सखरखण्ड, कसैको मकै । सबैले आआफ्नो भाग निकाल्थे र एकअर्कालाई बाँड्थे । गोलो घेरा बनाएर बसेका हामी सबैले थोरैथोरै खानेकुरा साटासाट गर्दै खान्थ्यौं । 

    आजका महँगा होटल र आकर्षक परिकारसँग तुलना गरेर त्यो भोजनको मिठास बुझाउन सकिँदैन । त्यसको स्वादमा गाउँले सम्बन्धको न्यानोपन थियो र साझा खुसीको मिठास थियो । सायद त्यसैले आज पनि मलाई त्यो सामूहिक भोजनको सम्झना सबैभन्दा प्रिय लाग्छ ।  त्यतिबेला मेलाको वरिपरि अहिले जस्ता होटल र व्यापारिक स्टलहरू हुँदैनथे ।  हामी आफ्नै घरबाट बोकेर ल्याएका खानेकुरा खान्थ्यौं । आज समय फेरिएको छ ।  सत्यवती मेला पनि नयाँ स्वरूपमा विस्तार हुँदै गएको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको यस स्थानले अहिले सांस्कृतिक, प्राकृतिक, पर्यटन तथा स्थानीय आर्थिक गतिविधिको सम्भावना पनि बोकेको छ । 

    यही मंसिर  ७ र ८ गते आयोजना हुन गइरहेको मेलामा अहिले विभिन्न व्यवस्थापकीय पक्षमा सुधार देखिन्छ । खानेपानी, शौचालय, बिजुली, बाटोघाटो र पार्किङजस्ता आधारभूत सुविधाहरू व्यवस्थित हुँदै गएका छन् । विभिन्न व्यापारिक स्टलहरू सञ्चालनमा आउन थालेका छन् । स्थानीय उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्ने अवसर सिर्जना भएको छ ।  मौलिक पहिरनमा सजिएर तस्बिर खिचाउने, फोटोग्राफरको सहयोग लिने र विभिन्न साँस्कृतिक पहिरनमा आफ्नो पहिचानलाई तस्बिरमा अनुबन्ध हुने सुविधा पनि थपिएको छ । 

    साँस्कृतिक कार्यक्रमहरूमा स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारसम्मको प्रस्तुति रहने गरेको छ । परम्परागत नृत्य, भेषभूषा, लोकगीत र मौलिक संस्कृतिका झलकहरूले मेलालाई अझ जीवन्त बनाउने  छन् । 
    यसका अतिरिक्त सत्यवतीको अर्को महत्त्वपूर्ण पक्ष यसको प्राकृतिक सौन्दर्य हो ।  हरियालीले भरिएका खुला चौर, वनजंगल, शान्त वातावरण र वरिपरिका मनोरम हिमाली दृश्यहरूले यस ठाउँलाई प्रकृतिप्रेमीहरूका लागि पनि आकर्षक गन्तव्य बनाएका छन् । यहाँबाट देखिने ३६० डिग्रीको प्राकृतिक दृश्य, शान्त वातावरण र खुला प्रकृतिले ध्यान, मेडिटेसन तथा नेचर वाकका लागि उपयुक्त परिवेश सिर्जना गर्छन् । क्याम्पिङ तथा प्रकृतिसँग केही समय बिताउन चाहनेहरूका लागि पनि यो ठाउँले विशेष सम्भावना बोकेको छ । विदेशी पर्यटकहरूसमेत यहाँको प्राकृतिक शान्ति र सौन्दर्य अनुभव गर्न आइपुग्ने गरेका छन् । यसरी हेर्दा सत्यवती अब केवल पूजा गर्न जाने धार्मिक स्थलमा सीमित छैन ।  यो धार्मिक आस्था, मौलिक संस्कृति, स्थानीय व्यापार, प्राकृतिक पर्यटन र सामाजिक भेटघाटको साझा गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । 

    बिर्सनु नहुने हाम्रो मौलिकता ...........। 

    भौतिक पूर्वाधार थपिनु राम्रो हो ।  व्यापार बढ्नु राम्रो हो । पर्यटक आउनु राम्रो हो । आधुनिक सुविधाहरू थपिनु झन् राम्रो हो तर यी सबैको बीचमा हाम्रो पहिचान, परम्परा, प्रकृति र सामाजिक आत्मीयता जोगाइराख्नु उत्तिकै आवश्यक छ ।  सत्यवतीको वास्तविक सौन्दर्य केवल त्यहाँ खिचिएका आकर्षक तस्बिरमा होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका विश्वास, संस्कार, कथा, गीत, नृत्य र सामूहिक अनुभूतिमा पनि छ । आज म आफ्नो बाल्यकालको सत्यवती र अहिलेको सत्यवतीलाई सम्झेर तुलना गर्छु । पहिलेको सत्यवतीमा अभावहरू थिए, अव्यवस्थित पक्षहरू थिए, तर आत्मीयता र सामूहिकता पनि थियो ।  अहिलेको सत्यवतीमा व्यवस्थापन, सुविधा र नयाँ सम्भावनाहरू थपिएका छन् । यी दुवै समयका सकारात्मक पक्षलाई समेट्दै अझ सभ्य, सुन्दर र व्यवस्थित गन्तव्य बनाउने जिम्मेवारी हाम्रो पुस्ताको हो । 

    मलाई लाग्छ, सभ्यता भनेको केवल मानिसले लुगा लगाउनु, सडक बनाउनु वा सुविधा थप्नु मात्रै होइन । सभ्यता त मानिसको व्यवहारमा देखिनुपर्छ । प्रकृतिप्रतिको सम्मानमा देखिनुपर्छ । धार्मिक आस्थालाई मर्यादित बनाउने चेतनामा देखिनुपर्छ । आफ्नो संस्कृति जोगाउँदै अरूको संस्कृतिलाई सम्मान गर्ने संस्कारमा देखिनुपर्छ । सत्यवतीको मेला हाम्रा लागि एउटा अवसर हो पुर्खाले छोडेका पदचाप बुझ्ने, आफ्ना बाल्यकालका स्मृतिहरू फेरि भेट्ने, मौलिक संस्कृतिको उत्सव मनाउने र प्रकृतिसँग नजिक हुने अवसर । 

    सायद यसपटक सत्यवती पुग्दा कसैले पुजारी बाजेको हातबाट फूल लिएर सन्तान प्राप्तिको कामना गर्नुहुनेछ । कसैले विद्याको आशीर्वाद माग्नु हुनेछ । कसैले स्थानीय संस्कृति हेर्नुहुनेछ, कसैले मनपर्ने कलाकारको प्रस्तुति सुन्नुहुनेछ । कसैले स्थानीय उत्पादन किनेर आफ्नो गाउँको अर्थतन्त्रमा योगदान दिनुहुनेछ । अनि कसैले शान्त चौरमा बसेर हिमालको दृश्य हेर्दै प्रकृतिसँग केही पल बिताउनु हुनेछ ।

    आ–आफ्नै रुची, उद्देश्य र अनुभूति हुनेछन् तर ती सबैलाई जोड्ने साझा थलो हुनेछ हाम्रो सत्यवती 

    यसपटक मंसिर ७ र ८ गते सत्यवती मेलामा भेटौंला ।  आउनुहोस्, आस्थाको सम्मान गरौं, मौलिक संस्कृतिको उत्सव मनाऔं । प्रकृतिको सौन्दर्यमा रमाऔं र परिवर्तनसँगै हाम्रो पहिचानलाई पनि जीवन्त राखौं । सत्यवतीलाई एकपटक आफ्नै आँखाले हेर्नुहोस्, आफ्नै अनुभूतिले महसुस गर्नुहोस् । यहाँ तपाईंको रुचीको कुनै न कुनै संसार अवश्य भेटिनेछ । मनलाई जोड्ने मन्दिर, आस्थालाई जोड्ने सत्यवती बजैको मेलामा भेट्दा कसो रमाइलो न लाग्ला र ?