बुधवार , मंसिर ९, २०८३
भैरहवा, ९ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन निजी कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरेको छ । स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापनको चुनौती झेल्दै आएको सिद्धार्थनगरले समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित निजी कम्पनीलाई व्यवस्थापनको जिम्मेवारी दिएको हो ।
फोहोरमैला व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिका र वातावरणीय सुन्दर सरसफाई तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रा.लि.बीच पाँच वर्षका लागि सम्झौता भएको हो । विगतमा यससम्बन्धी विभिन्न प्रयास भए पनि राजनीतिक दाउपेचलगायतका चुनौतीका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन । नगरप्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा समस्या समाधानका लागि नयाँ प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोरमैला संकलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी सम्हाल्नेछ । फोहोरमैला व्यवस्थापनको कुल ठेक्का रकम ३ करोड ६० लाख २ हजार ९ सय ७१ रुपैयाँ ७ पैसा रहेको छ । २०८३ मंसिर ७ गतेदेखि लागू भएको सम्झौता २०८८ मंसिर ६ गतेसम्म कायम रहने नगरपालिकाले जनाएको छ ।
वर्षौंदेखि नगरबासीले भोग्दै आएको फोहोरको समस्या अन्त्य गरी सिद्धार्थनगरलाई स्वच्छ, सफा र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । सोही लक्ष्यअनुरूप नगरप्रमुख खाँले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन व्यवस्थापन प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाउनुभएको हो ।
नगरप्रमुख खाँले फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरवासीको प्रमुख चासोको विषय रहेको उल्लेख गर्दै अब सरसफाइमा देखिने गरी परिवर्तन ल्याउने बताउनुभयो । ‘फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरबासीको चासोको विषय हो । स्वच्छ सहर बनाउने कुरा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । नगरवासीले वर्षौंदेखि भोग्दै आएको फोहोरको समस्या समाधान गरी सफा, सुन्दर र स्वस्थ सिद्धार्थनगर निर्माण गर्ने हाम्रो प्रतिबद्धता हो’, नगरप्रमुख खाँले भन्नुभयो, ‘यो काम नगरपालिकाको मात्र नभइ हामी सबैको साझा जिम्मेवारी पनि हो ।’
नगरपालिकाले यसअघि वडा नम्बर १ को मेउडिहवास्थित डण्डा नदी छेउमा फोहोर फाल्दै आएको थियो । त्यहाँ स्थानीयले अवरोध गरेपछि वडा नम्बर १ कै सिद्धार्थ राजमार्ग छेउस्थित डण्डा नदी किनारा फाल्न सुरु भएको थियो । यहाँ सर्वोच्च अदालतले फोहोर नफाल्न आदेश दिएको थियो । अब भने निजी कम्पनीले जिम्मा लिएपछि व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij