शुक्रवार , भाद्र १२, २०८३
भैरहवा, १२ भदौ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल अन्तर्गत रहेका विभिन्न क्लबहरुले भोटेकोशी बाढीपीडितहरुको लागि १८ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार रुपन्देहीको बुटवलस्थित लायन्स सचिवालयमा बसेको क्लबहरुको आकस्मिक बैठकमा यस्तो प्रतिबद्धता आएको मानवीय सेवा तथा विपद् उद्वार एवं राहतका डीएटी कोर्डिनेटर (संयोजक) ओम कुमार श्रेष्ठले बताउनुभयो ।
‘बैठकमा उपस्थित हुन नसक्नुभएका क्लब तथा पदाधिकारीहरूबाट समेत थप सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ, ’उहाँले भन्नुभयो–‘यस विपद्को घडीमा बैठकमा उपस्थित हुन असमर्थ हुनुभएका सम्पूर्ण लायन्स क्लबका पदाधिकारी र सदस्यहरुलाई आफ्नो क्लबकोतर्फबाट सक्दो सहयोगका लागि अपील गर्दछु ।’
उहाँले सम्बन्धित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई यथाशीघ्र प्रतिबद्धता व्यक्त गरेको रकम जम्मा गरी भोटेकोशी बाढीपीडितहरूको उद्वार तथा राहत कार्यमा सहयोग पुर्याउन समेत अनुरोध गर्नुभएको छ ।
ओम कुमार श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर ओम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सञ्चालन डिष्ट्रिक सेक्रेटरी आशिष कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।
बुधबार रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij