बिहिवार , मंसिर १०, २०८३
भैरहवा, १० मंसिर । प्रवर्धन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बिहीबार निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ।
संस्थाको प्रांगणमा आयोजित शिविर सिद्धार्थनगर नगरपालिका–३ स्थित लुम्बिनी नेत्रालयका नेत्र विशेषज्ञहरूको सहयोगमा सम्पन्न भएको हो । शिविरमा संस्थाका शेयर सदस्य तथा सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा १२५ जनाभन्दा बढीले आँखा जाँच गराएको संस्थाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता, लुम्बिनी नेत्रालयका प्रमुख डा. हिरा बहादुर शाहको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष दीपक क्षेत्री न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका सचिव भेषराज बस्यालले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. शाहले आँखा मानव जीवनको अत्यन्त महत्वपूर्ण अंग भएकाले नियमित परीक्षण र समयमै उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आँखासम्बन्धी समस्या लुकाएर राख्न नहुने उल्लेख गर्नुभयो । यस्ता निःशुल्क स्वास्थ्य शिविरले सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनुका साथै रोगको समयमै पहिचान र उपचारमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
सहकारीले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै स्वास्थ्य सेवामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij