बिहिवार , भाद्र ११, २०८३
भैरहवा, ११ जेठ । हालै तिब्बततर्फबाट अचानक आएको भीषण बाढीका कारण त्रिशूली–भोटेकोशी नदी क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगर रुपन्देहीले दुःख व्यक्त गरेको छ ।
संघले रसुवाको स्याफ्रुबेँसी, टिमुरे, नुवाकोट, धादिङ, गोरखा लगायतका स्थानदेखि चितवनको नारायणगढसम्मका विभिन्न क्षेत्रमा ठूलो बाढी तथा प्राकृतिक विपद्को अवस्था सिर्जना भइ व्यापक जनधनको क्षति पुगेको खबरले अत्यन्तै मर्माहत बनाएको जनाएको छ ।
विपद्को घडीमा तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित सरकारी निकायबाट जारी सूचना र निर्देशनको पूर्ण पालना गर्न संघले आग्रह गरेको छ ।
बाढीका कारण आफ्ना सहकर्मी तथा रसुवा भन्सारमा कार्यरत अधिकारी र सुरक्षा निकायका अधिकारीहरुसमेत सम्पर्कबिहीन भएको खबरले आफूहरू अत्यन्त मर्माहत र दुःखित भएको संघले जनाएको छ । सम्पर्कविहीन सबै सहकर्मी, अधिकारी, सुरक्षाकर्मी तथा नागरिक सकुशल भेटिऊन् र उनीहरूको शीघ्र उद्धार होस् भन्ने पनि संघले कामना पनि गरेको छ ।
संघले प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायी तथा अन्य नागरिकप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै प्रभावित क्षेत्रमा यथाशीघ्र उद्धार तथा राहतको व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
साथै कठिन परिस्थितिमा सम्पूर्ण भन्सार एजेण्ट, उनीहरूका परिवार तथा आफन्तलाई एक–अर्कालाई सहयोग गर्दै सचेत र सावधान रहन संघले अपील गरेको छ ।
विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग र सहकार्य गर्न संघ प्रतिबद्ध रहेको अध्यक्ष मधु प्रसाद पन्थीद्वारा जारी अपीलमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij