२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

विद्युत आपूर्ति सुचारु गर्न माग राख्दै उद्योगी र श्रमिकको धर्ना

बिहिवार , कार्तिक १३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १३ कार्तिक । रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी र श्रमिक आन्दोलित भएका छन् । उनीहरु विद्युत आपूर्ति सुचारु गर्न माग राख्दै आन्दोलित भएका हुन् । ट्रकलाईन र डेडिकेटेड लाईनको नाममा आफूहरुले माग र उपभोग नै नगरेको विद्युत महसुल तिराउन खोजिएको भन्दै उद्योगीहरुले आपत्ति जनाएका छन् ।

    बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र, रुपन्देही अगाडि धर्ना दिदै उद्योगी, श्रमिक तथा उद्योग–व्यवसाय सम्बद्ध संघ–संस्थाहरुले आफूहरुले न्याय नपाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नेत्र प्रसाद आचार्यले उद्योगी–व्यवसायी अन्यायमा परेको बताउनुभयो । उहाँले अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले प्रतिसोध साँधेर उद्योगी–व्यवसायीले उपभोग नगरेको विद्युत महसुल तिराउन खाजेको बताउनुभयो । ट्रकलाईन माग गरेका उद्योगी व्यवसायीले महसुल बुझाउनुपर्छ भन्ने पक्षमा आफूहरु रहे पनि उपभोग र माग नगरेकालाई एक्कासी बिल तिर्नुपर्छ भन्नु गलत रहेको उहाँको भनाइ छ । बिना प्रमाण अपराधीको शैलीमा वक्यौता रकम भन्दै मागिएको र त्यो उद्योगीले नतिर्ने उहाँले दावी गर्नुभयो ।

    बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले सरकारले लाइन काट्दा उद्योग बन्द गर्नुपरेको बताउनुभयो । उहाँले सरकारले यसरी लाईन काट्दै जाने हो भने उद्योग बन्द भइ पूँजी पलायन हुने अवस्था आउने बताउनुभयो । उद्योग बन्द हुँदा उद्योगी र श्रमिक मारमा परेको बताउनुभयो ।

    रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले उर्जामन्त्री कुलमान घिसिङले स्टण्टबाजी गरेको आरोप लगाउनुभयो । उहाँले मन्त्री घिसिङले श्रमिकको रोजीरोटीमा लात हान्नुभएको बताउनुभयो । उद्योगीलाई दुःख दिने हो भने भोलीका दिनमा उद्योग पलायन हुने बताउनुभयो ।

    तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले राज्यले प्रमाणबिना कि पैसा तिर, कि उद्योग बन्द गर भन्दै उद्योगीमाथि दमन गरेको बताउनुभयो । उहाँले उद्योग बन्द हुँदा श्रमिक बेरोजगार बनेको बताउनुभयो ।

    नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले राज्यले नाजायज ढंगले उद्योग मार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले हजारौं श्रमिकको रोजगारी गुम्ने अवस्था आउन नदिन उद्योगमा विद्युत आपूर्ति सुचारु गर्नुपर्ने माग राख्नुभयो ।

    कार्यक्रममा सहभागी उद्योग–श्रमिकहरुले उर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणविरुद्ध नाराबाजी गरेका थिए ।

    IMG_8263.jpg

    त्यस्तै उद्योगहरुमा तत्काल विद्युत आपूर्ति सुचारु गर्नुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इन्जिनियर संजय कुमार मिश्रलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।