
सोमवार , आश्विन ६, २०८२
काठमाडौं, ६ असोज । यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ ।
बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताउनु भयो । उहाँकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ ।
थापाले भन्नुभयो– ‘अग्रिम टिकट हामीले खोलिसकेका छौं । चितवन पोखरालगायतका ठाउँहरुमा गाडीहरु गइरहेको छ । गाडीहरु रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ ।
अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौं । हामीसँग यो पटक ५० हजारजतिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन् । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’
थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिव ९५ प्रतिशत यातायात समितिहरु बससेबा डटकममा आवद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ ।
आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताउनु भयो । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताउनु भयो । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उहाँको भनाइ छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताउनु भयो । उहाँकाअनुसार अहिले भौतिक रुपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासंचिव गौतमले भन्नुभयो–‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईंहरुले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौं । अनलाइन टिकट गर्न भनिरहेका छौं । आफ्नो एप बनाउन पनि भनिरहेका छौं ।
त्यसरी नै सेबा सञ्चालन गर्न भनिरहेका छौं । अहिले देशभरी नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरु अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् ।
आफ्नो एपसँग बससेवा डटकम लिंक गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रुपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रुपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन् । यो सबै अनलाइन सेबाले गर्दा नै हो ।’
यता, भौतिक रुपमा टिकट काट्ने यात्रुहरुलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कमा दैनिक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसमा प्रेसरहरु चेक गर्ने, ज्वरो नाप्ने सेवा दिइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग सदस्य गौरव बोहोराले बताउनु भयो ।
बोहोराले भन्नुभयो,‘सामान्य चेकजाँच गरिरहेका छौं । प्रेसरहरु चेक गर्ने, ज्वरोहरु नाप्ने काम भइरहेको छ । दिनमा ४०÷४५ जना बिरामीहरु आउने गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौं ।’
विगतमा अनलाइन सेवा नहुँदा यात्रुहरुले घटस्थापनादेखि नै बसपार्कमा मध्यरातमा गएर लाइन बसीबसी टिकट काट्नुपथ्र्याे । जसकारण कष्टकर हुने गरेको थियो । यसपटक त्यो बाध्यताको अन्त्य भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij