
मंगलवार , आषाढ २६, २०८१
भैरहवा, २५ असार । गत असार १३ गते राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । २०८० सालमा सम्पन्न एसईईको नतिजा समग्रमा सुखद रहेन । धेरै विद्यार्थीहरु उत्तीर्ण हुन सकेनन् । परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यस विषयमा सरकार र सम्बन्धित मन्त्रालयले अध्ययन–अनुसन्धान तथा लेखाजोखा गर्ने नै छन् ।
एसईई उत्तीर्ण भएका विद्यार्थीहरु कक्षा ११ का लागि अहिले आफूले अध्ययन गर्ने कलेज छान्ने क्रममा छन् । कलेजहरुमा भर्ना कार्यक्रम चलिरहेका छन् ।
यसपटकको नतिजा केलाउने हो सिद्धार्थनगरबाट यसपटकको एसईई परीक्षामा सिर्दिमा पन्त ३.९६ जीपीएर ल्याएर नगर प्रथम भएकी छन् । त्यस्तै छात्रतर्फ दृष्टान्त रेग्मीले ३.९१ जीपीए ल्याएर नगर प्रथम भएका थिए । उनीहरु दुवै जना काशी नोबल एकेडेमीबाट एसईई दिएका विद्यार्थी हुन् ।
त्यस्तै संस्थागत विद्यालयतर्फ भैरहवाको आर्या पब्लिक स्कूल, पश्चिमाञ्चल इङलिस स्कूल, काशी नोबल एकेडेमी मनकामना इङलिस स्कूल र अमर ज्योती इङलिस स्कूलको नजिता राम्रो छ । त्यस्तै सामूदायिक विद्यालयतर्फ बहिरा बाल माध्यमिक विद्यालय र सुसंस्कृत माध्यमिक विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएका छन् ।
रुपन्देहीलाई शिक्षाको उज्जवल क्षेत्रको रुपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही आधुनिक र उच्च शिक्षा प्रदान गर्ने शिक्षालयको जिल्ला पनि मानिन्छ । विगतका दिनमा एसईई उत्तीर्ण गरेपछि भैरहवा र यस आसपासका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि बुटवल, काठमाडौं तथा भारतका विभिन्न शहरसम्म पुग्नुपर्ने बाध्यता थियो । तर, पछिल्लो केही वर्षदेखि त्यो बाध्यता हटेको छ । भैरहवाका विद्यालयहरुमा उच्च शिक्षा अध्ययन गर्न सकिन्छ । अझ उच्च शिक्षा हासिल गर्न रुपन्देही जिल्ला बाहिरका विद्यार्थीहरु भैरहवा आउने गरेका छन् ।
यसको अलावा भैरहवाका अन्य कलेजमा विद्यार्थीहरुले आफूले रोजेका विषय पनि अध्ययन गर्न पाउने भएकाले अहिले भैरहवा शिक्षा क्षेत्रको हबको रुपमा अघि बढेको छ ।
स्वास्थ्य शिक्षा, प्राविधिक शिक्षातर्फ भैरहवामा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गरेपछि भैरहवाका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न भैरहवाबाहिर जानुपर्ने बाध्यता हटेको विद्यार्थी बताउँछन् ।
कुनै समय मा.वि. तहको शिक्षापछि उच्च शिक्षा अध्ययन गर्न भैरहवाका विद्यार्थीहरुलाई बुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता थियो । उच्च शिक्षा अध्ययन गर्नको लागि कलेजहरु त केही मात्रामा थिए तर गुणस्तरीय प्राविधिक शिक्षामा भने भैरहवा पछाडि देखिन्थ्यो तर अहिले भने समय फेरिएको छ । धेरै कुरा परिवर्तन भएको छ ।
नेपालकै विकसित र पूर्वाधारमा सम्पन्न बन्दै गइरहेको भैरहवा अहिले शिक्षामा पनि अब्बल बन्दै अगाडि बढेको देखिन्छ । भैरहवाले शिक्षा क्षेत्रमा अगाडि बढ्नु यहाँको बासिन्दाका लागि गौरवको कुरा हो । यहाँ व्यवस्थापन, शिक्षा, विज्ञान, मानविकी संकाय र विभिन्न प्राविधिक विषयहरु विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् ।
हिजो एसईईपछि राम्रा कलेजहरु खोज्नको लागि बुटवल, काठमाडां धाउने यहाँको अभिभावक स्थानीय क्षेत्रमा लोकप्रियता कमाइरहेका सामूदायिकदेखि निजीस्तरबाट सञ्चालित कलेजहरुमा आफ्ना सन्तानलाई पढाउनका लागि लैजाने गरेका छन् ।
जिल्लाको सदरमुकाम भैरहवा (सिद्धार्थनगर) पनि विगत केही वर्षदेखि शिक्षा क्षेत्रमा निकै फड्को मारेको छ ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र श्री लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पतालले पनि दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठाले प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ ।
भैरहवाको मोन्टेश्वरी मेमोरियल ईङलिस बोर्डिङ स्कूलबाट २०६७ सालको एसएलसी बोर्ड परीक्षामा सहभागी अनुराग पाण्डेले छात्रतर्फ नेपाल प्रथम हुन सफल भएको विद्यालय सञ्चालक समितिका सदस्य रामदेव यादवले बताए ।
काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले भैरहवामा सञ्चालित शैक्षिक संस्थाहरु शैक्षिक गुणस्तरीयतामा कमजोर नभएको दावी गरे । अभिभावक र विद्यार्थीहरुले वास्तविकता बुझ्न आवश्यक छ । केही विद्यार्थीहरु अरुको लहलहैमा पनि अध्ययनका लागि भैरहवाबाहिर जाने गरेका छन् । हामीले विद्यार्थीहरुलाई यहीकै (भैरहवा) कै शैक्षिक संस्थामा पढाउनुपर्छ भनेर बुझाउन सक्नुपर्छ । अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ, ’उनले भने ।
एसईईसम्म यही पढ्ने विद्यार्थीले एसईई उत्तीर्ण हुनासाथ बाहिर जानैपर्छ भन्ने सोचबाट अब माथि उठ्नुपर्ने उनको भनाइ छ । उच्च शिक्षा अध्ययनका लागि भैरहवा बाहिर विद्यार्थी जाँदा यहाँको शैक्षिक विकासमा पनि असर गर्छ । विद्यार्थीहरुलाई यही नै टिक्ने वातावरण बनाउनुपर्छ, ’उनले भने ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले सिद्धार्थनगरमै सञ्चालित शिक्षण संस्थामा अध्ययन गरेका विद्यार्थीहरु जिल्ला प्रथम समेत भइरहेको बताए । उनले भने, ‘पढाईको हिसाबले भैरहवा र भैरहवाबाहिर केही फरक छैन । केही विद्यार्थीहरु स्वतन्त्रताको नाममा पनि भैरहवा बाहिर अध्ययनका लागि जाने गरेका छन् । केही अभिभावकहरुको बुझाइका कारण पनि यस्तो भएको हो । तर, समग्रमा भन्ने हो भने भैरहवा शिक्षा क्षेत्रमा अब्बल छ । ’
,‘भैरहवा शैक्षिक हब बन्दै गएको छ । भैरहवा बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी भीम भण्डारीले भने,‘यो क्याम्पसमा डोटी जिल्लासम्मका विद्यार्थीहरु अध्ययन गरेको मलाई थाहा छ । शिक्षा क्षेत्रमा भैरहवालाई अझ अगाडि बढाउन सबै सरोकारवालाहरुको मिलेर अघि बढ्दै आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवामै गुणस्तरीय शिक्षा प्रदान गर्ने राम्रा शिक्षण संस्थाहरु रहेको बताए । उनले भने, ‘भैरहवामा गुणस्तरीय शैक्षिक संस्थाहरु छन् । पहिला तथा आफूले आफूैलाई विश्वास गर्नुपर्यो । कक्षा १० सम्म राम्रो पढाइ भएर राम्रो नतिजा दिने विद्यालयमा पढिसकेपछि कक्षा ११ मा पढ्न किन अन्यत्र जानुपर्यो ? यो एउटा फेसन जस्तो पनि भएको छ । विद्यार्थीहरुले रोजेका विषय यहाँ छैनन् भने त जानुपर्यो । तर, ठूलो भवनमा पढ्दैमा र बढी शुल्क तिर्दैमा मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्ने भ्रमबाट मुक्त गर्नुपर्छ । विद्याथीहरुसँगै अभिभावकले पनि यो कुरा बुझ्न जरुरी छ । ’
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एम.बी.बी.एस, बी.डी.एस., बी.फार्मेसी, बी.एन.एस., बी.पी.एच., बी.एस.सी .(नर्सिङ), बी.एस.सी. (एम.एल.टी.), बी.एस.सी. (एम.आई.टी.) लगायतका विषयहरुको पठनपाठन हुँदै आएको छ ।
वि.सं. २०५४ सालमा भैरहवामा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज भएको युसीएमएसका जनसम्पर्क अधिकृत (सूचना अधिकारी) सुशील गुरुङले बताए । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आफ्ना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्ध छौं ।’
भैरहवा नमूना मावि, सुंस्कृति मावि, रुपन्देही लिलाराम न्यौपाने मावि, काशी नोबल एकेडेमी, न्यू ईरा इङलिस बोर्डिङ स्कूल, मुनलाईट आवासीय मावि, सनसाइन आवासीय मावि, बृहस्पति कलेजलगायत विद्यालयमा कक्षा ११ र १२ का कक्षा सञ्चालन भइरहेका छन् । त्यस्तै स्नातक तह अध्यापन गराउने विभिन्न क्याम्पस÷कलेज भैरहवामा छन् ।
त्यस्तै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरले विभिन्न विषयमा अध्ययन अध्यापन गराउँदै आएको । संस्थानले नेत्र विशेषज्ञहरू मध्यबाट विभिन्न स्पेसलिटीको फेलोसिप प्रोग्राम सञ्चालन गर्दै आएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।
संस्थानमा कोर्निया फेलोसिप, रेटिना फेलोसिप, ग्लाउकोमा फेलोसिप, अकुलो प्लास्टिक फेलोसिप, पेडियाट्रिक फेलोसिप जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यसै गरी एमबीबीएस गरेका विद्यार्थीहरूका लागि एमडी अफ्थल्मोलोजी कोर्स पनि सञ्चालन गर्दै आएको छ । त्यसै गरी चारवर्षे बीअक्टोमेट्रिक्सको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
उनले भने, ‘तीनवर्षे नेत्र सहायकको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यसको साथसाथै अप्टिकल डिस्पेन्सिङ जस्ता कोषहरू पनि सञ्चालन गर्दै आएको छ । यसरी आँखाको क्षेत्रमा आफूलाई आवश्यक पर्ने साथसाथै देशभरीबाट विद्यार्थीहरूलाई यसले पढाउँदै आएको छ । यो अस्पतालले बिरामीको जाँचको अलावा दक्ष जनशक्तिको उत्पादनमा समेत कार्य गर्दै आएको छ । यसरी विभिन्न विधाहरूमा गरेर करिबकरिब २ सय जना विद्यार्थीहरु विभिन्न क्षेत्र र विषयका अध्ययन गर्दै आइरहेका छन् ।’
त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा ल्याब टेक्निसियन, डिप्लोमा इन फरेष्ट्री विषय अध्यापन भइरहेको छ । यहाँ शान्त, मनोरम वातावरणमा पढ्न पाइने, अनुभवी प्राध्यापकहरुद्वारा अध्यापन गराइने, न्यूनतम शुल्कमा अध्ययन गर्न सकिने र भौतिक पूर्वाधार सम्पन्न भएको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।
भैरहवामा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भैरहवा बहुमुखी क्याम्पस र संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्त रुपन्देही क्याम्पस छन् । यहाँ सञ्चालित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा टाढा टाढाका विद्यार्थी अध्ययन गर्न आउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij