२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

निर्यात अनुदान स्थगित गर्ने निर्णयप्रति सिद्धार्थ उवासंघको आपत्ति

शुक्रवार , आश्विन २४, २०८२

  • 985
    Shares
  • 985
    Shares
  • भैरहवा, २४ असोज । सरकारले निर्यातमुखी उद्योगहरूलाई दिँदै आएको अनुदान स्थगित गरेको भन्दै उद्योगी–व्यवसायीले आपत्ति जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सरकारको उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

    नेपालबाट निर्यात हुने वस्तुहरूमा निर्यात अनुदान विस्तारको माग र आवश्यकता लामो समयदेखि उठ्दै आएको सन्दर्भमा उद्योग विभागले निर्यात गरिसकेका निर्यातकर्ताहरूले बुझाउने अनुदान आवेदनहरू यस वर्ष प्रक्रिया नगर्ने भन्ने निर्णय सार्वजनिक गरेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएकोसंघले जनाएको छ ।

    संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले शुक्रबार विज्ञप्ती जारी गर्दै गत आर्थिक वर्षको वक्यौता निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी निर्यात क्षेत्रको संरक्षण, निर्यात प्रवद्र्धन र औद्योगिक विकासका लागि सरकारलाई आवश्यक पहल गर्न अनुरोध गर्नुभएको छ ।

    ‘गत आर्थिक वर्ष  २०८१÷८२ का निर्यात अनुदान आवेदनहरू प्रक्रिया नगर्ने भनी गरिएको विभागीय सूचनाले मुलुकको आर्थिक स्थायीत्वमा प्रतिकूल असर पार्ने, निर्यातमुखी उद्योगहरूको मनोबल कमजोर बनाउने र सरकारका नीतिगत प्रतिबद्धताप्रति उद्योगी–व्यवसायीहरूमा अविश्वासको वातावरण सिर्जना गर्ने सम्भावना देखिएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

    नेपालका निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न कठिन चुनौतीहरूको सामना गर्दै, आर्थिक मन्दी र राजनीतिक संक्रमणबीच पनि नेपालका उत्पादनहरूको निर्यात निरन्तरता दिँदै राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अध्यक्ष आचार्यले बताउनुभयो ।

    ‘नेपालका निर्यातमुखी उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूको प्रवद्र्धन, संरक्षण र हकहित सुनिश्चित गर्ने दायित्व सरकारले नै बहन गर्नुपर्ने हुँदा असोज २३ गतेकोे सूचना पुनर्विचार गरी आ.व. २०८१÷८२ का निर्यातकर्ताहरूलाई स्वघोषणासहित अनुसूची–३ अनुसारको ढाँचामा निवेदन बुझाउने म्याद थप गर्न उद्योग विभागसँग संघले जोडदार माग गर्दछ, ’विज्ञप्तीमा भनिएको छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मुलुकको हालको वित्तीय अवस्था, संक्रमणकालीन परिस्थितिहरू तथा औद्योगिक क्षेत्रले सामना गरिरहेका असहज अवस्थाहरूलाई गम्भीरतापूर्वक बुझेको अध्यक्ष आचार्यको भनाइ छ ।