
शुक्रवार , आश्विन २४, २०८२
तिलोत्तमा, २३ असोज । तिलोत्तमा क्रिकेट लिगको दोस्रो दिनको खेल (बिहीबार) मा नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी भएका छन । तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य इगल्सले पी टु के डी स्क्वाडलाई ८० रनको फराकिलो अन्तरले हराउँदै पहिलो जीत हासिल गर्यो ।
निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको नेपथ्यको जीतमा सन्दीप बाँनियाले २५, कामरान अहमदले १६ तथा अब्दुल साउद खानले १५ रन बनाउनुभयो । बलिङतर्फ पी टु के डी स्क्वाडका समीर यादवले ३, शशिधर टण्डन र सागर भण्डारीले क्रमश २/२ विकेट लिनुभयो ।
१२९ रनको विशाल लक्ष्य पछ्याएको पी टु के डी स्क्वाडको सुरुवात भने साचेजस्तो हुन सकेन । लगातार विकेट गुमाएर दवावमा परेको पी टु के डीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने पुरै टीम ४८ रन बनाउँदा अलआउट हुन पुग्यो ।
पी टु के डी लाई सस्तैमा समेट्ने क्रममा प्रेमसागर यादव, कामरान अहमद तथा लक्ष्मण कुमालले क्रमश २÷२ विकेट लिनुभयो । नेपथ्य इगल्सका प्रेमसागर यादवले गेम चेन्जरको उपाधि प्राप्त गर्दा कामरान अहमद म्यान अफ द म्याच घोषित हुनुभयो ।
त्यसै गरी बिहीबार नै भएको दोस्रो खेलमा खेलासिकी ओर्कासलाई ५ विकेटले हराउँदै रामापुर रिभाइभलियन्स विजयी भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको खेलासिकीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । खेलासिकीका लागि जावेद खानले १५ तथा कृष्ण विक र सुशान्त सुवेदीले १०÷१० रन जोड्नुभयो । बलिङतर्फ द रिभाइभलियन्सका आयन खान र फैजान खानले २÷२ विकेट लिनुभयो । ५४ रनको लक्ष्य पछ्याएको रामापुर रिभाइभलियन्सले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । द रिभाइभलियन्सलाई जिताउन सुसान्त थापाले महत्वपूर्ण १८ रन जोडे भने आयन खानले नटआउट ७ रन जोड्नुभयो । खेलासिकीका लागी शोयब हसनले ४ तथा दिवस अर्यालले १ विकेट लिए पनि त्यो जीतका पर्याप्त हुन सकेन । खेलमा फैजान खानले गेम चेन्जरको उपाधि प्राप्त गर्दा आयन खान म्यान अफ द म्याच हुनुभयो ।
लिगमा शुक्रबार पनि दुई खेल हुँदैछ । हरेक खेलहरु नेपथ्य कलेजको प्राविधिक सहयोगमा तिलोत्तमा क्रिकेट कमिटीको पेजबाट प्रत्यक्ष हेर्ने व्यवस्था समेत गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij