२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

शारीरिक र मानसिक अशक्तताले खुशी लुटिएको परिवार 

आइतवार , मंसिर ७, २०७७

नवलपरासी, ७ मंसिर ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ५ सालबुटाका नेत्रप्रसाद भुषाललाई २०६४ सालमा एक्कासी मानसिक रोगको समस्या देखा पर्‍यो । मानसिक रोगको सामान्य औषधी सेवन गर्दै रोगलाई बढ्न नदिई उनले आफ्नो दैनिकी बिताउँदै थिए । ७२ सालको भुकम्पले उनको घर ढल्यो । घर ढलेसङ्गै नेत्र प्रसादका सपनाहरू पनि क्रमशः ढल्दै गए ।

घर भत्किएको पिरले उनको मानसिक रोग बढ्दै गयो । पुन औषधिउपचार पश्चात् रोग केही सुधार हुँदै पनि गयो । भत्केकै घरमा जसोतसो समय बिताएर केही महिनाको औषधि बोकेर उनी रोजगारको सिलसिलामा भारत पसे । भारत गएको केही महिना लगत्तै उनको मानसिक रोक झन् बढ्दै गयो । आफन्तको सहयोगमा उनलाई नेपाल फर्काइयो र परिवारले पुन औषधि उपचार सुरु ग¥यो । उपचारपछि पनि उनको रोग पूर्ण ठिक भएन । औषधि उपचार चल्दाचल्दै सामान्य अवस्थामा पुगेका उनी आफन्तको साथ र सहयोग पाइन्छ कि भन्दै बाकेको कोहलपुरमा भाडामा बस्ने गरी परिवारसहित त्यहाँ पुगे । आफन्तको सहयोगमा कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उनले ३ वर्षसम्म नर्सिङ पढ्ने विद्यार्थीका लागि खाना पकाउने काम पाए ।

त्यसलगत्तै फेरी सोही शिक्षण अस्पतालमा हेल्परको रुपमा ३ वर्षसम्म जागिर पाए । श्रीमानको अस्पताल र श्रीमतीको भुजा कम्पनीको सामान्य जागिरले २ छोरा र २ छोरीसहितको उनीहरुको परिवार जसोतसो चलेकै थियो । 

मानसिक रोगको औषधि नियमित सेवन गर्नुपर्ने भए तापनि सामान्य जीवनयापन चलाइरहेको अवस्थामा वि. सं. २०७० सालमा  नेत्रप्रसादलाई ठुलो आन्द्रा कुहिएर अत्याधिक रक्तस्राव भएपछि आफुले काम गरिरहेकै अस्पतालमा उपचार गरियो । ४ वर्षसम्म ५/५ महिनामा भर्ना हुँदै उनको नियमित  गरियो । सोहि बिचमा फेरि नेत्रप्रसाद सडक दुर्घटनामा परे । दुर्घटनाका कारण पुरै शरीरभरी रड राखिएपछि उनि काम गर्न सक्ने अवस्थामा रहेनन् । काम गर्न नसक्न भएपछि अस्पतालमा गर्दै आएको कामबाट समेत उनि निकालिए । फेरि वि. स. २०७४ सालमा रक्तस्रावको रोग झन् बढेपछि जीवनमरणको दोसाँधमा छ्ट्पटिएका उनलाई नेपालगंजबाट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौंमा थप उपचारका लागि पुर्याइयो ।

‘हुने हार दैवी नटार’ भने जस्तै काठमाडौंमा उनको उपचार चल्दै थियो उता नेपालगंजमा भने आमासंग भुजा कम्पनीमा गएका बेला सोही कम्पनीको छतमा खेलिरहेका उनका ११ वर्षे छोरा धर्मराजलाई करेन्ट लाग्यो । करेन्ट लागेर पुरै ज्यान जलिसकेको अवस्थामा छोरालाई पनि बाबु उपचाररत अस्पताल महारागंजमा लगियो । करेन्ट लागेकै कारण छोरा घर्मराजले दाहिने हात गुमाउनुप¥यो । आफ्नो उपचार गर्न पुगेका बाबुले उल्टै सोही अस्पतालमा छोराको उपचार र हेरविचार गर्नुपर्ने बाध्यतामा रुमलिनु प¥यो । अस्पतालमा बस्दा अत्याधिक रक्तस्राव भएर दिनमा १० पटक भन्दा बढी डाइपर फेर्नुपर्ने अवस्था नेत्रप्रसादको थियो । भविष्यको आडभरोषा मानेका छोराको एउटा हात नै काट्नुपर्ने अवस्था आएपछि नेत्रप्रसादको परिवारमा ठुलो बज्रपात आयो । बिहानसांझ दुई छाक खान समेत धौधौ पर्ने परिवारमा यति ठुला कष्ट र पीडा थपिदै गएकी अब साना साना खुशी र उपलब्धिले उनको दुखको खाडल पुरिदै नपुरिने भयो । आफन्त र चन्दादाताहरुको सहयोगमा झण्डै २० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरी बाबु र छोराको उपचार त गरियो तर नेत्रप्रसादको समस्या भने अझै पूर्ण ठीक भएको छैन । उनी अहिले पनि डाक्टरको सल्लाह अनुसार मानसिक रोग र पेटको समस्याको नियमित औषधि सेवन गरिरहेका छन् ।

औषधि छुटाउने बित्तिकै उनको रक्तस्राव र मानसिक रोगको समस्या पुन बल्झिहाल्छ । नेपालगंजमा बस्दै आएका उनीहरुलाई एक पछि अर्को बज्रपात थपिदै गएपछि त्यहाँ बस्न मन नलागेर अहिले उनिहरु पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ मा रहेको एक घरमा आश्रय लिएर बसेका छन् । स्याङ्जाकै एक आफन्तले उनीहरुलाई काम गरी खान भनी सुनवल १२ मा रहेको केही जग्गा उपलब्ध गराएका छन् । एक छोरीको बिहे गरिसकेका उनका १७ वर्षिय जेठा छोरा सागर अहिले १० कक्षा सकेर प्लस २ पढ्ने सोचमा छन् । टेक्निकल क्षेत्रमा रुची रहेका छोरालाई कतै निःशुल्क पढाइदिने क्याम्पस पाइन्छ कि भन्दै त्यसैको खोजिमा नेत्रप्रसाद भौतारिरहेका छन् ।  आमा भाइरथिले घर नजिकैको एक होटेलमा काम गरेवापत आउने तलबले ९ कक्षामा अध्ययन गर्ने कान्छी छोरी हिमा र एउटा हात गुमाएका ७ कक्षामा पढ्ने कान्छो छोरा धर्मराजको पढाई खर्च धान्न नै धौधौ भइरहेको छ । नेत्रप्रसादले पनि कोभिड–१९ को महामारी अगाडिसम्म एउटा बोर्डिङ स्कुलको गाडीमा सह–चालकको काम गर्दै आएका थिए तर कोभिडका कारण स्कुल विद्यालय नखुल्दा उनको त्यो जागिर पनि गुमेको छ । नियमित औषधि खाइरहनुपर्ने उनले यतिबेला आर्थिक अभावका कारण औषधि किन्न समेत सकेका छैनन् भने दुर्घटनाका कारण शरीरमा राखिएको रड निकाल्न अप्रेशन गर्न पनि सकिरहेका छैनन् ।

’पैसा नभएर औषधि किन्न सकेको छैन, कुन दिन फेरि रक्तस्राव बढेर अकालमै ज्यान गुमाउँछु थाहा छैन’ उनले भने, ‘छोरा र आफ्नै उपचारमा आफन्तहरुले गर्न सकेको सहयोग गरे, तर बारम्बार सहयोग गर भन्ने अवस्था पनि छैन’ । उनले आफ्नो मोबाइल नम्बर ९८६३२११५८२ मा सम्पर्क गरी नेत्रप्रसाद भुषालको नाममा ग्लोबल आइएमई बैंकमा रहेको ३३०७०१००३९९०९ खाता नम्बरमा आर्थिक सहयोग रकम पठाई आफ्नो औषधिउपचार र छोराछोरीको उच्च शिक्षाका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।