२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

रोहिणी–३ मा निःशुल्क आँखा जाँच शिविर

शनिवार , कार्तिक २९, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, २९ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा निःशुल्क डाइबेटिक रेटिनोप्याथी क्याम्प (शिविर) शुक्रबार सम्पन्न भएको छ । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा लायन्स क्लब अफ भैरहवा वेस्ट र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले बताउनुभयो ।

    शिविरमा १२५ जनाको आँखा चेकजाँच भएको र जसमध्ये ५१ जनामा मधुमेह (सुगर) रहेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिनुभयो । सूचना अधिकारी पाण्डेका अनुसार मोतीयाबिन्दु रहेका १८ जनालाई शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा जान सिफारिस गरिएको छ ।

    WhatsApp Image 2025-11-14 at 3.12.40 PM.jpeg

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लायन्स क्लब अफ भैरहवा वेस्ट र श्री रण अम्बिका शाह आँखा अस्पतालले महत्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । उहाँले आँखा अस्पतालले समयसमयमा रोहिणीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । लायन्स क्लबले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो ।

    त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर मीना पन्थीले मधुमेह भएपछि मृगौला, आँखा जस्ता शरीरका अंगलाई असर गर्न सक्ने भएकाले सचेत हुनुपर्ने र समयसमयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो । पन्थीले रोहिणी गाउँपालिकालाई रोजेर लायन्स क्लब अफ भैरहवा वेस्टले कार्यक्रम गरेको बताउनुभयो ।

    रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिविरको आयोजना गरेकोमा लायन्स क्लब र आँखा अस्पताललाई धन्यवाद दिनुभयो । नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका कोषाध्यक्ष राजेश ढकालले मधुमेहका कारण आँखामा असर पर्न सक्ने भएकाले विशेष ख्याल राख्न आग्रह गर्नुभयो ।

    नेत्र विशेषज्ञ डा. प्रभात देवकोटाले मधुमेह (सुगर) लाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । उहाँले मधुमेह नियन्त्रणमा राख्न र समयसमयमा आँखा परीक्षण गराउन आग्रह गर्नुभयो ।

    अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले नेपालसहितका मुलुकमा दाँत र आँखाको उपचारमा लापरवाही गरिएको पाइएको बताउनुभयो । उहाँले शिविर गर्नुको उद्देश्य सचेतना र परपरीक्षण दुवै रहेको जानकारी दिनुभयो । उहाँले सुगरलाई सामान्य अवस्थामा राख्नुपर्ने र समयसमयमा चेकजाँच गरेर आँखामा हुन सक्ने गम्भिर समस्याबाट बच्न सकिने बताउनुभयो ।

    लायन्स क्लब अफ भैरहवा वेस्टका अध्यक्ष समीर पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक अनुज कुमार गोयनकाको स्वागत तथा सचिव मोहन बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।