शनिवार , कार्तिक २९, २०८२
भैरहवा, २९ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमुना माध्यमिक विद्यालयम विद्यार्थी सम्मान तथा प्राध्यापक बिदाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी कंचन बनियालाई सम्मान र प्राध्यापक डा.शालिकराम भण्डारीलाई बिदाई गरिएको हो ।
११ र १२ कक्षा भैरहवा नमूनामा अध्ययन गरी शैक्षिक कार्यक्रम चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) एकीकृत प्रवेश परीक्षाको नतिजा–२०८२ मा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी बनियालाई सम्मान गरिएको हो । त्यस्तै लामो समय विद्यालयमा अध्यापन गर्नुभइ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको वरिष्ठ वैज्ञानिकको रुपमा काम गर्न जान लाग्नुभएका प्रा.डा. भण्डारीलाई बिदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले विद्यालय टीमको सक्रियताले राम्रो नतिजा आएको बताउनुभयो । उहाँले अनमोल रत्नहरुको सल्लाह, सुझाव विद्यालयलाई आवश्यक रहेकोमा जोड दिनुभयो । वडाअध्यक्ष श्रेष्ठले विद्यालयले पनि समन्वय गर्ने बताउनुभयो । सामूदायिक विद्यालयलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउनुपर्ने उहाँको भनाइ छ । प्रधानसेनापति अशोकराज सिग्देल पनि यही विद्यालयको पूर्वविद्यार्थी रहनुभएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा भैरहवा नमुना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सामूदायिक विद्यालयमा गर्ने विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्ने उदाहरण विद्यार्थी कंचन बनियाले प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपाल पनि यसै विद्यालयको पूर्वविद्यार्थी रहनुभएको बताउनुभयो । ‘यहाँ अध्ययन गरेका विद्यार्थी विभिन्न महत्वपूर्ण पदमा पुग्नुभएको छ, उहाँले भन्नुभयो–‘सामूदायिक विद्यालयमा पढ्छु भन्ने कुनै विद्यार्थीले पनि हिनताबोध गर्नुहुँदैन । शिक्षकको महत्वपूर्ण भूमिकाका कारण राम्रो नतिजा आएको उहाँको भनाइ छ ।
विद्यालयका प्राचार्य बासुदेव पौडेलले पूर्व विद्यार्थी कंचन बनियाले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेर विद्यालयको गरिमा उच्च बनाउन सफल भएको बताउनुभयो । उहाँले यो गौरवको कुरा भएको बताउनुभयो । प्राचार्य पौडेलले लामो समयसम्म यही विद्यालयमा अध्यापन गराउनुभएका प्रा.डा. शालिकराम भण्डारी नास्टको वरिष्ठ वैज्ञानिक भइ अनुसन्धान कार्यमा लाग्नुभएकोमा खुसी लागेको बताउनुभयो।
नास्टका वरिष्ठ वैज्ञानिक प्रा.डा. शालिकराम भण्डारीले विद्यार्थीहरुले मिहिनेत गरे असम्भव छैन भन्ने कुराको गतिलो प्रमाण कंचन बनियाले प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले फेरी पनि विद्यालयसँग जोडिने र विद्यालयलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यार्थी कंचन बनियाले भैरहवा नमुना मावि उत्कृष्ट विद्यालय भएको भन्दै आफूलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य बासुदेव पौडेलको अध्यक्षता, शिक्षक जगत बहादुर रायमाझीको स्वागत तथा शिक्षक रिक बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij