२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

काँग्रेस–कम्युनिष्टले जनताको शोषण गरेका कारण विद्रोह भयो : उपेन्द्र यादव

शनिवार , कार्तिक २९, २०८२

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टले देश र जनताको शोषणा गरेका कारण युवाहरुले विद्रोह गरेको दावी गर्नुभएको छ । उहाँले विद्रोहमा केही गलत तत्वको भने प्रवेश भएको बताउनुभएको छ ।

    शनिबार रुपन्देहीको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यसको दोष ३५ वर्षसम्म शासन गरेकाहरुको भएको बताउनुभयो । ‘काँग्रेस–कम्युनिष्टले देश र जनताको शोषण गरे, भ्रष्टाचार गरे, त्यसैले विद्रोह भयो, उहाँले भन्नुभयो–‘मुलुकमा भएको जनधनको क्षतिको जिम्मेवारी तत्कालिन सरकारले लिनुपर्छ ।’

    पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले जनसंख्याको आधारमा महिला, दलित, मधेशी, खसआर्य, जनजाति, मुस्लिम लगायत सबैको न्यायोचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । संघीय संरचनालाई सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँको भनाइ छ ।  अहिलेको प्रदेश सरकारसँग न प्रहरी, न कर्मचारी, न अधिकार छ, चोरलाई समातेर अदालतसम्म पुर्याउने अधिकार पनि छैन, उहाँले भन्नुभयो त्यसैले अधिकारसम्पन्न प्रदेश बनाउनुपर्छ ।

    उहाँले काँग्रेस–कम्युनिष्टले संघीय प्रणाली र गणतन्त्र अगाडि बढेको देख्न नचाहेको दावी गर्नुभयो । अहिलेको निर्वाचन प्रणाली गलत भएकोले यसलाई सुधार गर्नुपर्ने उहाँले भनाइ छ । पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणालीमा नेपालमा आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । विकास बजेटमा पनि भेदभाव रहेको उहाँको भनाइ छ । ‘जहाँको जनसंख्या ६० प्रतिशत छ, त्यहाँको विकास बजेट ११ प्रतिशत छ, अनि कसरी विकास हुन्छ ? ’उहाँले भन्नुभयो–तराई उर्वराभूमि हो । तर, यहाँ गरीबी र बेरोजगारी छ ।’

    अध्यक्ष यादवले न्यायोचित प्रतिनिधित्व, सन्तुलित विकास, अधिकार, विकासका लागि संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो । राज्यले आफ्नै नागरिकलाई विभेद गर्ने देशको विकास हुन नसक्ने उहाँले बताउनुभयो । मुलुकमा निर्वाचनको विकल्प नरहेको उहाँले बताउनुभयो ।

    त्यस्तै पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अशोक राई नेतृत्वको जसपा निकट समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खाँसहित नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गर्नुभएको थियो ।

    जसपा नेपाल लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता, इनामुल्ला फकिरको स्वागत तथा राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।