२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गण्डक पावर हाउसको मर्मतसम्भार हुँदै            

बुधवार , कार्तिक २६, २०७७

परासी, २६ कार्तिक । 
मर्मतको अभावमा वार्षिक ७३ करोड ५८ लाख घाटा व्यवहोर्दै आएको गण्डक पावर हाउस अब वृहद मर्मतसम्भार हुने भएको छ । १६ बर्षदेखि जीर्ण र बिग्रेको कारण विद्युत उत्पादन घटदै गएको पावर हाउसलाई नेपाल विद्युत प्राधिकरणले वृहद् मर्मत सम्भार (रिहैबिलिटेशन) गर्ने भएको छ ।
 
नवलपरासीको प्रतापपुर गाउँपालिमा अवस्थित गण्डक जल विद्युत केन्द्रलाई वृहद मर्मत सम्भारका लागि नेपाल विद्युत प्राधिकरणले एन ई ए ईञ्जिनियरिङ्ग कम्पनी लिमिटेड काठमाण्डौलाई परामर्शदाताको रुपमा नियुक्त गरेको पावर हाउसले जनाएको छ । पावर हाउसको रिहैबिलिटेशनका लागि उक्त कम्पनीले पावर हाउसको अध्ययन, अनुसन्धान, डिजाईन ड्रोईङ्ग, लागत खर्च स्टिमेट गरी अन्तर्राष्ट्रिय  टेण्डर गर्ने र यसको कार्यको निरीक्षण समेत गर्ने जिम्मा दिइएको विद्युत उत्पादन केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिएका छन् ।  
 
गत असोजमा नेपाल विद्युत प्राधिकरण र एनईए इञ्जिनियरिङ्ग कम्पनीबीच सम्झौता भएको हो । सम्झौतापछि ५ महिनामा अध्ययन, लागत स्टिमेट गरी परियोजनाको टेण्डर समेत गर्ने म्याद तोकिएको छ । उक्त पावर हाउस आधुनिक र अटोमेटि रुपमा चल्ने गरि रिहैबिटेशन हुने र यसको सबै खर्च नेपाल विद्युत प्राधिकरणले व्यवहोर्ने प्रमुख मानजनले जानकारी दिएका हुन् ।
 
यस्तो छ पावर हाउसको अवस्था

नेपाल भारतको गण्डक सम्झौता अन्तर्गत भारत सरकारले जिल्लाको उक्त गण्डक कमाण्ड क्षेत्र सो विद्युत उत्पादन केन्द्र निर्माण गरेको थियो । सन १९६६ सालमा शुरु भएको पावर हाउस प्रोजेक्ट सन १९७९ मा मात्र निर्माण कार्य सम्पन्न भइ संचालनमा आएको थियो । भारत र नेपालको सम्झौता अनुसार पावर हाउस १९८१ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

२५ वर्षमा रिहैबिलिटेशन गर्ने पावर हाउस ४१ बर्षसम्म पुग्दा पनि रिहैबिलिटेशन नभएकोले मेसिनहरु विग्रीदै उत्पादन समेत घटेको छ ।
 
१५ मेगावाट विद्युत उत्पादान क्षमतावान रहेको उक्त पावर हाउसमा ५/५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । टरवाईन रिहैबिलिटेशन म्याद २५ वर्ष रहेकाले ४१ वर्ष पुग्दा पनि रिहैबिलिटेशन नभएपछिे उक्त पावर हाउसमा जडित टरवाईन नम्बर १ र ३ पुर्ण रुपले ध्वस्त भइसकेको छ भने टरवाईन नम्बर २ टालटुल गरी दैनिक ३.५ मेगावाट विद्युत उत्पादन भइरहेको पावर हाउसले जनाएको छ । तर अब पावर हाउस वृहद मर्मत सम्भार भएपछि पुनः  १५ मेगावाट विद्युत उत्पादन गर्न सकिने विद्युत केन्द्र प्रमुख कपिलदेव मानजनले बताए ।
 
३२ विगाहा क्षेत्रफलमा फैलिएको उक्त विद्युत केन्द्रका अधिकांश भवनहरु जीर्ण भइसकेका छन् । कतिपय उपकरणहरु पनि विग्रेर थन्किरहेको र कर्मचारी समेतको अभाव रहेको पावर हाउसले जनाएको छ । पावर हाउस मर्मत पश्चात भवनहरुको पनि वृहद मर्मत गर्ने र कर्मचारी पुर्ति गर्ने जस्तो आवश्यक देखिन्छ । जिल्लाको परासी क्षेत्रमा करिब ३० मेगावाट विद्युतको आवश्यकता छ तर केन्द्रले अहिले ३.५ मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ थप विद्युत भारतको विहार र बुटवलबाट ३३ र ११ केभीको बिजुली किनेर परासी क्षेत्रमा सप्लाई गरिदै आइएको छ ।