२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

चौथो समपूर्ण कपको फाइनलमा शनिबार सिम्रिक र झरना भिड्ने

शुक्रवार , मंसिर ५, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • तिलोत्तमा, ५ मंसिर । कप्तान सुरज चौधरीको उत्कृष्ट २ गोलको मद्दतमा सुनवललाई १ का विरुद्ध ३ गोलले हराउँदै सिम्रिक युथ क्लब चौथो समपुर्ण कपको फाइनलमा प्रवेश गरेको छ । योसँगै प्रतियोगिताको अन्तिम तथा फाइनल खेलमा मंसिर ६ गते सिम्रिक युथ क्लब बुटवल र झरना स्र्पोट्स क्लब भिड्ने पक्का भएको छ । 

    यसअघि बिहीबार भएको दोस्रो सेमीफाइनलमा सुनवल एफसीविरुद्ध सिम्रिकका कप्तान सुरज चौधरीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल प्रहार गर्नुभयो । डिबक्सभित्र सुनवलका किपरले फउल गरेपछि सिम्रिकलाईं पेनाल्टी प्राप्त भएको थियो । 

    e8953bc5-28eb-4765-897a-77a98037ea1f.JPG

    मध्यान्तरअघि १ गोलको अग्रता बनाएको सिम्रिकका लागि दोस्रो हाफको ४९ औं मिनेटमा कप्तान सुरजले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । मैदानको मध्य भागमा पाएको आर्कषक पासलाई छलाउँदै लगेर सुरजले एक्लै गोलमा परिणत गर्नुभएको थियो । दुई गोलले पछि परेको सुनवलले खेलको ५३ औं मिनेटमा भने खाता खोल्यो । उसका लागि जर्सी नम्बर ११ का टिकाराज गुरुङले किपरलाई चक्मा दिदै पहिलो गोल गर्नुभयो । खेलमा फर्किन सुनवलका खेलाडीहरुले दोस्रो हाफमा भरमग्दुर प्रयास गर्दै पुरै समय आक्रमक खेल खेले पनि गोल भने हुन सकेन । 

    अन्तिम समयमा सुनवलको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै जर्सी नम्बर ७ का मिलन आलेले सिम्रिकका लागि थप १ गोल गर्दै जीत सुनिश्चित पार्नुभयो । सुनवललाई हराउन महत्वपुर्ण २ गोल गरेका कप्तान सुरज चौधरी खेलमा म्यान अफ द म्याच भएको प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिनुभयो ।

    स्वर्गीय बुवा लाल बहादुर पुन तथा स्वर्गीय छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट सुरु भएको चौथो समपुर्ण कप नकआउट फुटबल प्रतियोगिता मंसिर ६ गतेसम्म चल्नेछ । समपुर्ण युवा क्लव तिलोत्तमा–१४ को आयोजनामा सुपौलीस्थित क्लबको आफ्नै खेलमैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिनुभयो । 

    त्यसै गरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद ८ हजार ५ सय रुपैयाँका दरले पुरस्कार पाउनेछन् । खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो ।

    खेल हेर्न पहिलो चरणमा ५० रुपैयाँ टिकट तय गरिएको खेलमा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागि १ सय रुपैयाँ तय गरिएको क्लबका संस्थापक अध्यक्ष अशोक पुनले बताउनुभयो । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निःशुल्क रहेको प्रतियोगितामा प्रत्येक खेलाडीका लागि १ लाख रुपैयाँ बराबरको बीमा गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो।