शुक्रवार , मंसिर ५, २०८२
भैरहवा, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले अन्दाजी मूल्य ६ लाख २५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बुधबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–७ हाटीबनगाईबाट २ लाख ५५ हजार रुपैयाँ बराबरको १०२ बोरा मैदा बरामद गरिएको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली ल्याइ गोदाम गरी राखेको अवस्थामा उक्त मैदा बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बाईपासबाट कस्टमेटिक सामानहरु १ झोला, एलईडी बल्ब १२५ थान र दैनिक उपभोग्यका सामानहरु ४ बोरा गरी १ लाख २५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
त्यसै गरी प्रहरी बिट बसपार्क रुपन्देहीबाट खटिएको टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर–३ स्थित बसपार्कबाट जर्सी ३ बोरा (५०० पिस) र स्कुटर गरी २ लाख ४५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । प्रहरीका अनुसार बरामद गरिएको कपडा, चालक, स्कुटर र चालकलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij